Followers

Friday, September 4, 2020

खम्पा अर्थात् विद्रोहको डढेलो

 

बेलाको बोली

६२ वर्षअघिको कुरा हो, तिब्बती सीमावर्ती नेपालका जिल्लाहरूमा दुईवटा शासन थियो भन्ने आह्वान थियो। एउटा श्री ५ को, अर्को खम्पा विद्रोहीको। एउटा वैध, अर्को अवैध।
श्री ५ को सरकारको पातलो उपस्थिति हुने ती गाउँहरूमा खम्पा विद्रोहीको ताण्डव थियो। श्री ५ को सरकारको मुखै नदेखी जुनी बिताउने त्यहाँका सर्वसाधारण १७ वर्षसम्म खम्पाको कष्ट झेल्न बाध्य थिए। २०१५ सालको फागुन अन्तिम साताबाट प्रवेश गरेका खम्पा २०३२ असार तेस्रो साता बिदा भएका थिए।

को हुन् खम्पा विद्रोही ?

१ जनवरी १९५० मा जनवादी गणतन्त्र चीनले तिब्बत स्वशासित क्षेत्रमाथि हस्तक्षेप गर्‍यो। चीनको कब्जामा परेपछि तिब्बतमा हजारौं वर्षदेखि प्रचलित धर्म, संस्कार, संस्कृतिमाथि अतिक्रमण हुन थाल्यो। धर्म, संस्कृतिका कट्टर अनुयायी तिब्बतीहरू चिनियाँ सांस्कृतिक क्रान्तिको मारमा परे। सांस्कृतिक क्रान्तिको नाममा तिब्बतको प्राचीन चैत्य, गुम्बा, माने, कानी, छ्योर्तेन, धर्मग्रन्थ तथा प्राचीनतम धार्मिक, सांस्कृतिक सम्पदाहरू नष्ट हुन थाले।

सदियौंदेखि बुद्ध धर्मदर्शनमा निर्लिप्त तिब्बतवासीलाई यस्ता गतिविधि सह्य भएन। चीन सरकार र स्थानीय सरकारबीच १९५१ मा १७ बुँदे सम्झौता पनि भएको थियो। सरकारी पक्षबाट सम्झौता उल्लंघन हुन थालेपछि १९५६ मा तिब्बतमा सशस्त्र विद्रोही जन्मे। चिनियाँ जनमुक्ति सेना र विद्रोहीबीच सशस्त्र युद्ध सुरु भयो, जुन विस्तारै तिब्बतभरि फैलियो। १० मार्च, १९५९ मा तिब्बतको राजधानी ल्हासामा विद्रोहको डढेलो सल्कियो। यो दिनलाई ‘खम्पा विद्रोह दिवस’को रूपमा अद्यापि चिनिन्छ।

व्यापक सैनिक दमनपछि स्वतन्त्रताका लागि भन्दै गरिएको तिब्बतीहरूको सशस्त्र विद्रोह असफल भयो। परिणामस्वरूप ३० मार्च १९५९ मा तिब्बतका राजा चौधौं दलाई लामाले जीवन रक्षाका लागि ल्हासा छाडे। अमेरिकी गुप्तचर संस्था (सीआईए)को सहयोगमा उनी १८ अप्रिल १९५९ मा भारतको आसाम तेजपुरमा आश्रय लिन पुगे।

कर्मापालगायत अरू धर्मगुरुहरू पनि नेपाल, भारतलगायत अन्य छिमेकी र युरोपेली तथा अमेरिकी मुलुकमा शरण लिन पुगे। भारतमा रहेका दलाई लामाले अमेरिकी र युरोपेली सरकारको साथ र सहयोग पाएपछि भूमिगत सशस्त्र गुरिल्ला तयार गरे। विद्रोहीहरू अधिकांश तिब्बतको ‘खाम’ क्षेत्रका भएकाले खम्बा विद्रोही भनेर उनीहरू चिनिए।

गोरखाका खम्पा सेल्टर

खम्पा विद्रोहीले तिब्बतमा वितण्डा मच्चाउन सीमावर्ती नेपालका भूभाग प्रयोग गरेका थिए। स्थानीयवासीका अनुसार गोरखाको स्यार भोटको चुम उपत्यका र लार्के भोटको नुब्री उपत्यकामा पनि उनीहरू सेल्टर बनाएर बसेका थिए।
लार्केतर्फ स्यालाको जंगलमा करिब ४० जनाको डफ्फा बसेको थियो। त्यो ठाउँ हाल चुमनुब्री गाउँपालिका-२ मा पर्छ। हिउँदका बेला भने नाम्रुङ बजारभन्दा पारिपट्टि जंगलमा बस्थे। यो ठाउँ हाल चुमनुब्री गाउँपालिका-४ मा पर्छ। उनीहरू बर्खाका बेला स्यालाको जंगलमा शिविर बनाएर बसेका थिए।

स्यारभोटको नीले, ङाक्युपारि र छेकम गरी तीन ठाउँमा त्यति नै संख्याका खम्पा गुरिल्लाको फौजले सेल्टर लिएको थियो। यी सबै ठाउँ हाल चुमनुब्री गाउँपालिका-७ मा पर्छ। ‘खम्पाहरूले हतियार, आर्थिक तथा प्राविधिक सहयोग र सैन्य तालिम पनि अमेरिकाबाटै पाउँथे भन्ने सुनिन्थ्यो’, त्यति बेला नाम्रुङ चौकीमा काम गर्ने प्रहरी नारायणभक्त अर्याल भन्छन्।

नेपालमा उत्तरतर्फ खम्पाको र दक्षिणतर्फ श्री ५ को सरकार छ भन्ने आरोप त्यति बेलाका सरकारको कानमा परिरहेको थियो। खम्पा शासनले गाउँले जनजीवन कष्टकर भएकोबारे राजासम्म जानकारी पुगेको थियो। चुमका बासिन्दाले खम्पाको ज्यादतीबारे तत्कालीन श्री ५ महेन्द्रको कानमा कुरा पुर्‍याइरहेका थिए। तिब्बतमा सधैं वितण्डा मच्चाइरहने खम्पा विद्रोहीलाई संरक्षण नदिन चिनियाँ सरकारले बारम्बार दबाबपूर्ण अनुरोध र आग्रह गरिरहेको थियो, चेतावनी दिइरहेको थियो।

‘घोडा चढेर हिँड्थे। जीउडाल पनि बडेबडेमानको हुन्थ्यो। हेर्दै डरलाग्दा। पेस्तोल भिर्थे। मान्छे पनि एकदम रिसाहा जस्ता’, थप्छन्, ‘हामी त्यहाँ पुग्दा उनीहरूले चुप्पी हानेर एकजना मान्छे मारिसकेका रहेछन्। त्यसैले खम्पा भनेपछि गाउँले थुरथुर हुन्थे।’ तर नेपाल प्रहरीसँग उनीहरू निहुँ खोज्दैनथे। ‘चौकीनेर आइपुगेपछि घोडाको रेस बढाएर जान्थे’, उनी स्मरण गर्छन्, ‘आमनेसामने भए भने जिब्रो झिक्थे। अलि डराएजस्तो, लाज मानेजस्तो गरेर हाँस्थे अनि जान्थे। उनीहरूको चलनै त्यस्तै हो कि झैं लाग्थ्यो।’

प्रहरीको काम शान्तिसुरक्षा कायम गर्नु हो। उनीहरूलाई ‘निःशस्त्र बनाउनू’ भन्ने सरकारको आदेश हुन्थ्यो। तर व्यवहारमा कठिन थियो। भिडेर हतियार खोस्न सक्ने अवस्था थिएन। आफूले मन पराएकी नाम्रुङकी एउटी युवतीलाई मन पराउने लार्के भन्सारका बहिदार रामेश्वर अधिकारीलाई खम्पाले चुप्पी हानेर मारेको घटना छ।
ल्हो गाविसका पूर्वअध्यक्षसमेत रहेका ६९ वर्षका तेञ्जिनल नोर्बुले पनि खम्पा विद्रोही बेहोरे। उनीसँग त एकफेर झगडै भयो। ‘सबैजना खैरो रङको युनिफर्म लगाउँथे। उनीहरूलाई रासनपानी, पकेट खर्च र हतियार रातिराति आउँथ्यो’, उनी सम्झन्छन्, ‘कसले ल्याउँथ्यो, कहाँ भेटेर दिन्थे, हामीले देखेनौं।’

रातिराति अचानक तिब्बत गएर आक्रमण गरेर फर्कने उनले बताए। अचानक जान्थे। तिब्बतमा सरकारको खाद्य गोदाममा ड्याम्डुम् हान्थे। अनि लुटपाट मच्चाउँथे। लुटेको सामान यहाँसम्म ल्याउँथे। कुटपिट गर्ने, हान्ने मार्ने गर्थे। उनीहरूको पनि तहतह हुने रहेछ। बदमासी गर्थे भन्ने सुनेको थिएँ, तर मैलेचाहिँ बदमासी गरेको थाहा पाइनँ। एउटी केटीको बारेमा हानाथाप भएपछि एकजना कर्मचारीलाई चुप्पी हानेर मारेको विषय उनलाई थाहा छ।

आफ्ना कुनै पनि गतिविधिबारे स्थानीयवासीलाई सूचना दिन्थेनन्। ‘हामीले सोध्दा यता जाने हो भने उनीहरू उता जान्थे। सोझो बोल्दैनथे’, उनी भन्छन्। गाउँलेसँग पैसा, खाद्यान्न सरसापट चलाउँथे। ‘गाउँले कसैसँग पैसा भएन भने सापट दिन्थे तर कबोल गरेको समयमा तिर्नै पर्थ्यो’, उनले भने। खम्पा यहाँ बस्दा गाउँलेले महँगीको मार खेप्नु परेको थियो। ‘उनीहरूसँग त पैसा प्रशस्त हुने रहेछ। मकै, गहुँ, करु महँगोमा किनिदिन्थे। त्यसको मार हामी गाउँलेलाई पर्‍यो’, थप्छन्, ‘हाम्रो नेपालमा बसेपछि हाम्रै रीतिथिति मान्नु पर्थ्यो। नेपालकै ऐनकानुनमा बस्नुपर्थ्यो। तर उनीहरू कहाँको मान्नु ? मान्दैनथे।’

धर्मशालामा बसेका दलाई लामाको भूमिका दोहोरो थियो, धार्मिक र राजनीतिक। आफूहरू धार्मिक रूपमा दलाई लामालाई देउता मान्ने तर राजनीतिक रूपमा नमान्ने तेञ्जिनको भनाइ छ। यस भेगका हरेकको घरको मूल कोठामा दलाई लामाको तस्बिर हुने गर्छ। उनको तस्बिरमा धुप बाल्ने र आशीर्वाद लिने गर्छन्। ‘हामीहरू मिलेसम्म बर्सेनि दलाई लामाको जन्मदिनमा धर्मशाला जान्छौं। उहाँको आशीर्वाद लिन्छौं। उहाँ काटमार नगर्नू, झुटो नबोल्नू, नराम्रो काम नगर्नू मात्र भन्नुहुन्छ। राजनीतिक कुरा हामीसँग गर्दा पनि गर्नु हुन्न। गरे पनि हामी मान्दैनौं’, सांगेदोेर्जे भन्छन्।

खम्पा विद्रोहीको नेपालको राजधानी मुस्ताङ थियो। उनीहरूका सर्वोच्च कमान्डर वाङ्दी त्यहीँ बस्थे। चुम भ्यालीमा बस्ने खम्पाहरू अलि उग्र थिए। त्यति बेला चुम भ्याली धादिङ जिल्लाको क्षेत्र पर्थ्यो। नीलेका प्रमुख लामा हिसे घ्याम्जोका अनुसार केही खम्पा विद्रोही र धेरैजना तिब्बती शरणार्थी चुम उपत्यकामा बस्थे। खम्पा विद्रोहीले स्थानीयवासीलाई सास्ती दिन्थे। ‘कतिजना थिए कुन्नि, ठ्याक्कै त भन्न सक्दिनँ। त्यस्तै ३५÷४० जना जति खम्पा यहाँ बस्थे। एक हिसाबले उनीहरू गुण्डाजस्तै हुन्’, उनी सम्झन्छन्, ‘तिब्बत जान्थे। बाख्रा, च्यांग्राको हुलहुल लुटेर ल्याउँथे। अनि अन्नहरू पनि त्यसरी नै लुटेर ल्याउँथे।’

चुम उपत्यका सय वर्षभन्दा अघिदेखि नै हिंसारहित क्षेत्र हो। तर खम्पाहरूले स्थानीय नीतिनियम उल्लंघन गरी उपत्यकाभित्र काटमार गरे। यसका कारण स्थानीयवासी हैरान भए। ‘गाउँमा मिटिङ बसेर राजेन गुम्बाका डुक्पा रिम्पोक्षेले हाम्रो क्षेत्रभित्र काटमार नगर, आनी, छोरीबुहारी नबिगार भनेर धेरैपटक हात जोडेर भन्नुभयो। त्यसपछि आनीहरू तानेर लान छोडे, तर काटमार गर्न छाडेनन्। अनि खम्पाले हाम्रो नीतिनियम बिगारे भनेर काठमाडौं गएर श्री ५ लाई पनि गुनासो गर्‍यौं। त्यसपछि यहाँ काटमार गर्न त छाडे, तर तिब्बततिरै काटेर मासु मात्र ल्याउन थाले। चुम्लिङतिर लगेर काटमार गरेर मासु ल्याएर खान थाले’, उनी भन्छन्। त्यसो गर्न पनि पाइँदैन भनेर स्थानीयवासीले भने पनि केही सीप लागेन।

एकपटक जनमुक्ति सेना चढेको गाडीलाई खम्पाले गोली हाने र नष्ट गरे। धेरै जनधन नष्ट गरी फेरि चुम उपत्यका आएर ज्यान बचाएको घटना हिसे सुनाउँछन्। धेरैपछि छेकम्पारमा प्रहरी चौकी आयो। त्यसपछि खम्पाको गतिविधि मत्थर हुँदै गयो। ‘खम्पाहरू पहिला त चारजना आएका थिए। पछि धेरै आए’, ८६ वर्षीय छिरिङफुञ्जो लामा भन्छन्, ‘धेरैजसो खम्पाहरू लामागाउँभन्दा पारि चौरमा बसे। कोही ङाक्युको पारि च्याप्के नाङ्मा भन्ने ठाउँमा बसे। पाल टाँगेर बसेकाले छाडेका अहिले केही दसीप्रमाण छैन। विस्थापित भएर तिब्बतीहरू पनि धेरै आए। खान पाएनन्। यहाँ आएकाहरूले गाउँलेसँग मिलेर काम गरे। खाने र बस्ने व्यवस्था गरे।’

एक समूह छेकमको झ्याङ्जुको घरमा बसेका थिए। जाने बेला ङादार नोर्बुलाई दुईवटा बन्दुक दिएर गए। जग्गाको विषयमा विवाद हुँदा ङादारले छेइङलाई सोही बन्दुक हानेर मारेका गाउँलेहरूमा सम्झना ताजै छ। खम्पाले दिएको दुःख सम्झँदै अर्का प्रमुख लामा पासाङ फुञ्जो भन्छन्, ‘हाम्रो ठाउँमा वन थोरै छ। त्यही पनि उनीहरू काट्थे। 
जबर्जस्ती गाउँलेलाई रूख काट्न लगाएर तिब्बतमा बेचेर खाद्यान्न किनेर ल्याउन लगाउँथे। कतिपयले गाउँकै अन्न पनि किन्थे। अन्न किन्दा यस्तो अन्याय गर्थे कि भर्ने बेलामा तीन घ्वाक गहुँ भर्थे, पैसा दिने बेला दुई घ्वाकको मात्र पैसा दिन्थे। कसैले धेरै अन्न लगेर थोरै पैसा दियो भने अहिलेसम्म पनि ‘खम्पाको घ्वाक’ भन्ने चलन छ।’ 

खम्पाले त्यस बेला छोरीचेली पनि उधुमै बिगारे। अर्काले बिहे गरेका छोरीचेली पनि खम्पाहरूले लगे। राजेन गुम्बाका १२÷१५ जना आनीहरू पनि लगे। अहिले उनीहरू कोही काठमाडौंमा छन्। कोही भारतमा छन्। 
उनीहरूका बच्चाबच्चीलाई अमेरिका, युरोपले सजिलै भिसा दिने रहेछ। जनमुक्ति सेनालाई जासुसी गरेको आरोपमा खम्पाहरूले ओर्केन छेवाङको काकालाई तेल खन्याएर मारेको स्थानीयवासीले बिर्सेका छैनन्। कुटपिट गरेर घरबाट खानेकुरा लिएर जाने, तिब्बतबाट ल्याएको भोटेकुकुर गाउँमा छाडा छाड्ने गाउँले सबै उपस्थित हुनुपर्ने वाङ (पूजा) मा, पाठपूजामा सामेल नभए गाउँको नियम उल्लंघन गर्ने गरेको गाउँलेको आरोप छ।

यसरी बिदा भए खम्पा

नेपालमा उत्तरतर्फ खम्पाको र दक्षिणतर्फ श्री ५ को सरकार छ भन्ने आरोप त्यति बेलाका सरकारको कानमा परिरहेको थियो। खम्पा शासनले गाउँले जनजीवन कष्टकर भएकोबारे राजासम्म जानकारी पुगेको थियो। चुमका बासिन्दाले खम्पाको ज्यादतीबारे तत्कालीन श्री ५ महेन्द्रको कानमा कुरा पुर्‍याइरहेका थिए।

तिब्बतमा सधैं वितण्डा मच्चाइरहने खम्पा विद्रोहीलाई संरक्षण नदिन चिनियाँ सरकारले बारम्बार दबाबपूर्ण अनुरोध र आग्रह गरिरहेको थियो, चेतावनी दिइरहेको थियो। चतुर राजा महेन्द्र युरोप र अमेरिकाबाट पनि विश्वास जितेका, चीनमैत्री, माओमैत्री पनि थिए। प्रधानमन्त्री कीर्तिनिधि विष्ट भने राजासँग अत्यन्तै बफादार र आज्ञापालक थिए। खम्पा विद्रोहीलाई हटाउनैपर्छ भन्ने निष्कर्षमा उनीहरू पुगेका थिए।

खम्पाहरूलाई निःशस्त्रीकरण गर्न सीमावर्ती जिल्ला प्रशासकहरूलाई आदेश थियो। आदेश पालना गर्ने क्रममा गोरखाका जिल्ला प्रहरी इन्चार्ज नेतृत्वको टोली अठार सय खोला (खोलाको नाम) प्रस्थान गर्‍यो। त्यो दिन थियो, २०३२ साल असार १४ गते। इन्स्पेक्टर गुञ्जबहादुर खत्री, एक हवल्दार र चार सिपाही गरी ६ जना टोली लार्केतर्फ हिँड्यो। हाल गोरखा नगरपालिका-६ छहरेनिवासी सिपाही टोपबहादुर पाठक पनि सोही टोलीमा थिए। उनीहरूको मुख्य लक्ष्य थियो, स्यालाको जंगलमा बसेका खम्पा विद्रोहीलाई निःशस्त्र बनाउने।

‘हामी यहाँबाट इन्स्पेक्टरको कमान्डमा एकचार (एक हवल्दार, चार सिपाही) गएका थियौं। हवल्दारसाप अर्घाखाँचीको हुनुहुन्थ्यो। हामी सिपाही कृष्णबहादुर थापा, मान्बुको मानबहादुर खड्का र म। ४० खम्पालाई लखेट्न सक्छौं भन्ने लागेको त थिएन। हामीसँग के थियो, त्यही एकेकवटा एसएलआर र सास राइफल मात्र। इन्स्पेक्टरसँग एउटा पेस्तोल थियो’, टोपबहादुर पाठक विगत साट्छन्, ‘उनीहरू ४० थिए, हामी ६। उनीहरू माथि जंगलमा थिए, हामी तलबाट गएका थियौं। गरौं भनेको भए त उनीहरूले जे गर्न पनि सक्थे।’

असारको बेला अठार सय खोला तर्दैतर्दै जान सजिलो थिएन। बाटो अहिलेको जस्तो पनि थिएन। बुटा समाउँदै, भर्‍याङ चढ्दै, भीरमा डोरी समाउँदै जानुपर्थ्यो। सातौं दिनमा उनीहरू सरासर स्यालाको खम्पा क्याम्प पुगे। ‘क्याम्पमा एउटा कुकुर थियो। त्यो कुकुरले हामीलाई झम्टियो। हामीले धपायौं’, पाठक चलचित्रका दृश्यजसरी वर्णन गर्छन्, ‘क्याम्पभित्र कोही थिएनन्। ठूलाठूला फल्याक ओछ्याएको रहेछ। बीचमा अँगेनु। फलेकमाथि राडी काम्लो ओछ्याएर बस्ने, सुत्ने गर्छन् भन्ने सुनेका थियौं। तर, त्यति बेला सबै थोक लगिसकेका रहेछन्, केही बाँकी थिएन। उनीहरूलाई नभेटेपछि हामी खोज्दैखोज्दै सामागाउँ र नौ दिनको दिनमा साम्दो पुग्यौं।

हामी त्यहाँ आउने सूचना पाएर अघिल्लै दिनमा क्याम्प छोडेर हिँडिसकेका रहेछन्। हामी आज पुग्यौं। उनीहरू हिजै साम्दोभन्दा माथि लार्केबाबुमा पाल टाँगेर बसेका रहेछन्। आज बिहानै त्यहाँबाट पनि उकालो लागे भन्ने सुनियो। उनीहरू गए पनि केही खम्पा महिला गाउँमै थिए। काखमा बच्चा थियो। उनीहरू लडाकु होइन, शरणार्थी रहेछन्। 
उनीहरूलाई सम्झाइबुझाई निःशस्त्रीकरण गरेर नेपाल सरकारले खडा गरेको शिविरमा राख्ने वातावरण बनाउने जिम्मा पनि त्यति बेला प्रहरीकै थियो। तर ‘कुचो लगाउनै नपरी बतासले उडाइदिएको’ भन्दै उनले खुसी व्यक्त गरे।
असार १४ गते अठार सय खोला प्रस्थान गरेका प्रहरीको टोली मिसन पूरा गरी ठ्याक्कै एक महिनापछि साउन १४ गते गोरखा सदरमुकाम आइपुगेको थियो। तर दुर्भाग्य नै भन्नुपर्छ, त्यही रात गोरखनाथको मूर्ति चोरियो। सो मिसन टोली मूर्ति खोज्दै फेरि तात्तातै बन्दीपुर पुगेको थियो।

Source: http://annapurnapost.com/news/165407


Thursday, September 3, 2020

परिवर्तनको साक्षी खुलामञ्च (भिडियो रिपोर्टसहित)

 

गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै छन्


असार ०७५ मा पाँचतारे होटेल र्‍याडिसनमा प्रधानमन्त्रीले भनेका थिए, ‘अब देशको एकजना नागरिक पनि भोको छ कि छैन भनेर हामी हेर्छौं । कोही भोकै पर्ने छैन, कोही भोकै मर्ने छैन ।’ तर, रोजगारी गुमाएर भोकै परेका नागरिक टुँडिखेलमा एक–एक छाक खानको लागि लाइन लाग्दा वरिपरिबाट तुफान गतिमा गाडी कुदाउने कुनै नेताले चिहाएर हेरेका छैनन् ।

राजधानीको टुँडिखेल यस्तो साक्षी हो जसले पटकपटकका राजनीतिक परिवर्तन देखेको छ, यो देशबाट गरिबी र भोकमरीको युग समाप्त भएको उद्घोष पनि पटकपटक सुनेको छ । तर, गरिबको नाममा टुँडिखेलमा भाषण गर्नेहरू नै सिंहदरबारमा भएको वेला टुँडिखेल भोका जनताको अभूतपूर्व जमघट देख्न विवश भएको छ । हो, महामारीको भय र निषेधाज्ञाको कानुनबीच पनि सयौँ नागरिक खुलामञ्चमा एकछाक खानाको पर्खाइमा बस्छन् । तर, त्यहीँ वरिपरिबाट झण्डा फहराउँदै तुफान गतिमा गाडी कुदाउने कुनै पनि दलका कुनै पनि नेताले अहिलेसम्म टुँडिखेलभित्र चियाएर हेरेका पनि छैनन् । 
अपराह्न ३ बजेदेखि चहलपहल हुन थाल्छ । ४ बजेसम्म त खुलामञ्च लगभग भरिन्छ । चर्को घाम होस् वा मुसलधारे पानी, खुलामञ्चको आँगनमा आज्ञाकारी बालकजस्तै चप्पल, झोला ओछ्याएर लहरै बस्छन् मान्छेहरू । दिनमा एक छाक खाना, उनीहरूको जीवनरेखा यही हो ।

 वर्षको छोरा, श्रीमतीसहित खानाको पर्खाइमा बसेका छन् शोभित परियार । परियारदम्पतीसँग कोठामा खाना मात्र होइन, पिउनलाई पानीसमेत छैन । सानो झोलामा सविनाले रित्ता बोतल बोकेकी छिन् । फर्किने वेला बोतल भरेर पानी लग्ने योजना छ उनको । पानीसँगै झोलामा अलिकति खाना पनि लान्छिन् उनी । ‘हामी आज खाएपछि भोलि बेलुकासम्म पर्खन सक्छौँ । तर, बच्चाले बिहानै भोक लाग्यो भन्छ,’ गह्रौँ स्वरमा उनी भन्छिन्, ‘उसलाई दिने केही छैन, त्यसैले यहीँबाट भात लगेर जान्छु ।’



गोर्खा आरुघाटका शोभित न्युरोडको टेलरिङ पसलमा काम गर्थे । ११ चैतको लकडाउनसँगै काम खोसियो । काम र दाम रोकियो । सहरमा हातमुख जोर्न गाह्रो भए पनि उनीहरू गाउँ गएनन् । ‘गाउँमा पनि हाम्रो केही छैन । त्यहाँ पनि भोकै पर्ने हो । कम्तीमा यहाँ त पसलेले उधारो दिन्छन् भनेर यतै बस्यौँ,’ उनी भन्छन् । 

सुरुका केही महिना त शोभितले उधारो पनि पाए । तर, बक्यौता धेरै भएपछि उधारो बन्द भयो । यता घरबेटीले भाडा ताकेता गर्न थाले । ‘घरबेटीलाई हात जोडेर बसेका छौँ, तर पसलेले उधारो ठप्प पारिदिए,’ उनी भन्छन्, ‘कोठामा खाना छैन, पानी पनि छैन । भोकै, प्यासै मर्नुभन्दा त खान पाइन्छ भनेर यहाँ आएको । हामी काम गरेर खाने मान्छे, यसरी लाइन लागेर खान लाज लाग्छ, तर ज्यानभन्दा ठूलो केही रहेनछ,’ उनी सुनाउँछन् । 

शोभितले हामीसँग संवाद गरिरहेको वेला टुँडिखेलको पूर्वी गेट अर्थात् विद्युत् प्राधिकरणतर्फबाट एउटा ट्याक्सी आयो । बुबाको मोबाइल हेरेर बसेको ६ वर्षे छोरा ‘आमा खाना आयो, आमा खाना आयो,’ भन्दै गाडीतर्फ दौडिए । छोरासँगै परियारदम्पती पनि खानाको लाइनतर्फ सोझिए ।

खुलामञ्चमा हरेक साँझ वितरण गरिने खानाले नै शोभित र उनीजस्ता सयौँ मानिसको ज्यान जोगाएको छ । खुलामञ्चमा खाना वितरण गर्ने दुई टोली छन् । इन्दिरा रानामगर नेतृत्वको टोलीले प्याकिङ खाना वितरण गर्छ जसलाई सर्वसाधारणले घर लग्न सक्छन् । ‘हन्ड्रेड्स ग्रुप’ नामको अर्को टोलीले त्यहीँ बसेर खाने गरी खाना वितरण गर्छ ।



यी दुवै टोलीले खाना वितरण गरेको धेरै भइसक्यो । ११ चैतमा लकडाउन सुरु भएको अर्को सातादेखि नै उनीहरू यही पुन्यकर्ममा छन् । दुवै टोली मिलेर खुलामञ्चमा हरेक दिन करिब पाँच सयजनालाई खुवाउन थालेको पाँच महिना भइसक्यो । 

दुवै समूहले सुरुवातमा सडकबालबालिका, सडकमानवका लागि खाना वितरण सुरु गरेका थिए । लकडाउन लम्बिँदै गएपछि सहरका मान्छेका दुःख चुलिँदै गयो, टुँडिखेलमा मान्छे बढ्न थाले । ‘सडकमानव, रिक्साचालक, सवारीचालक, सहचालक र निर्माण मजदुर मात्र आउँथे पहिले । अहिले त रोजगारी गुमाएका धेरै दाजुभाइ, दिदीबहिनी आउनुहुन्छ,’ इन्दिरा भन्छिन् । 

इन्दिरा एक्लै छैनन् । आङफुरी शेर्पाले उनलाई सघाउँछन् । आङफुरी शेर्पाले ६ पटक चीनतर्फबाट र ६ पटक नेपालतर्फबाट सगरमाथा आरोहण गरिसकेका छन् । तर, लकडाउनबीच सहरको एउट समुदाय कुन दु:खबाट गुज्रियो भन्ने उदाहरण हो आङफुरीको भोगाइ । ‘लकडाउनपछि म आफैँ भोकै परेँ, भोकले मरिन्छ जस्तो भयो, खाना बाँड्ने ठाउँ छन् रे भन्ने सुनेपछि खोज्दै आउँदा उहाँसँग भेट भयो, उहाँले बाँडेको खाना खाएर जीवन धानेँ तर खाना मात्र खाएर भएन, उहाँलाई सघाउनु पनि पर्‍यो भनेर टिममा जोडिएको छु ।’ 
‘हामी त सिजनमा मात्र पैसा कमाउने हो । सिजन सुरु हुनै लाग्दा बन्द भयो । भोक लाग्यो, अरू उपाय नभएपछि खाना खोज्न हिँडेँ,’ उनले भने । 

आङफुरी शेर्पा हिमाल चढ्ने भरिया हुन् । सिजनमा कमाइ हुन्छ, तर अहिले त पर्यटनको सिजन नै आएन, त्यसैले उनी बेरोजगार र भोका भए । उनी मात्र होइन, लकडाउनअघि नियमित आम्दानी भएका मजदुर पनि खाना खान अहिले टुँडिखेल पुग्छन् । निषेधाज्ञामा आवागमन रोक्न सडकमा खटिएका प्रहरीका आँखा छल्दै बानेश्वरबाट हरेक दिन अपराह्न ४ बजे टुँडिखेल पुग्छन् गुल्मीका पूर्ण पाण्डे । 



लकडाउनअघि पाण्डे बागबजारको स्कुलको क्यान्टिनमा काम गर्थे । स्कुलले अनलाइन पढाउन थालेपछि पाण्डेको क्यान्टिनको रोजगारी गुम्यो । विद्यार्थीलाई विभिन्न परिकार खुवाउने पाण्डे आफैँ भोकै पर्न थाले । ‘काम गरेर खान रमाउने मान्छे यसरी सडकमा प्लेट थापेर खानुपरेको छ । रोजगारी गुमाएका मान्छेले के खाए होलान्, तिनलाई राहत दिनुपर्छ भन्ने सरकार भएन,’ उनी भन्छन् । 

पाण्डेको गाउँमा आमा, श्रीमती र तीन सन्तान छन् । तर, पैसा नभएकै कारण उनी लकडाउन खुकुलो भएको वेला पनि गाउँ जान सकेनन् । ‘परिवार पाल्ने मान्छे, रित्तो हात कसरी जानु भनेर मनले मानेन, खुलेपछि काम गरौँला, केही आर्जन गरेर जाउँला भनेर यतै बसियो, तर झन् पछि झन् बर्बाद भयो,’ उनी सुस्केरा हाल्छन् । 

खाना खान आउनेलाई मात्र होइन, खाना वितरण गर्ने स्वयंसेवकलाई पनि सजिलो छैन । ‘हन्ड्रेड्स ग्रुप’की सदस्य रुविना धमाला चैतयता खाना वितरणमा छिन् । बिहानैदेखि खाद्यान्न संकलन गर्ने, पकाउने, प्याक गर्ने र वितरणको काम गर्दा रात पर्छ । महामारीबीच पनि उनी हरेक दिन घरबाहिर निस्केको देख्दा परिवार चिन्तित हुन्छ । ‘घरमा सबैजना डराउँछन्, चिन्ता गर्छन् । तर, यत्तिका मान्छेलाई सडकमा भोकै छाडेर हामी भने टन्न खाएर कसरी घरमा बस्न सक्छौँ ?’ २५ वर्षकी रुविनाले गम्भीर प्रश्न गरिन् । यो समूहले पहिले गौशाला, चाबहिल, थापाथली क्षेत्रमा पनि खाना वितरण गरेको थियो । 

हन्ड्रेड्स ग्रुप र इन्दिरा रानामगर दुवै समूहले निजी स्रोतबाट खाना वितरण सुरु गरेका हुन् । हन्ड्रेड्स ग्रुपका एकजना संस्थापक यम खड्का भन्छन्, ‘मान्छेहरू भोकै परेको देखेपछि हामीले सुरुमा आफ्नै पैसाबाट खाना वितरण गर्‍यौँ । तर, अहिले सहयोगी हातहरू प्रशस्तै आएका छन् । खाद्यान्न, पैसा मात्र होइन मान्छेहरू स्वयंसेवा गर्न पनि आउन थालेका छन् ।’ हामी त्यहाँ पुगेका वेला सरकारी कर्मचारी, प्रहरी र सेनाका मान्छेहरू सहयोग लिएर आएका थिए ।

हन्ड्रेड्स ग्रुपले बानेश्वरस्थित आफ्नै क्लबको घरमा खाना पकाउँछ । समूहका सदस्यहरू बिहानदेखि रातिसम्मै खाना पकाउन, संकलन गर्न र वितरणमा सक्रिय रहन्छन् ।

यता रानामगर भने घरमै खाना पकाउँछिन् । तीनजना छोरीले उनलाई सघाउँछन् । खाद्यान्न, तरकारी ल्याउन र खाना वितरणमा ट्याक्सीचालक लीला रेग्मीले सघाउँछन् । ‘संकटका समयमा मानवीय सहयोग नै सबैभन्दा ठूलो जिम्मेवारी हो, त्यसैले मैले पनि सहयोग गरेको छु,’ चालक रेग्मी भन्छन् । 

इन्दिरालाई सघाउनकै लागि छोरी सुवानी आलेगमर लन्डनबाट नेपाल आएकी हुन् । ११ कक्षा पढ्ने अपराजिता र निशु आफ्नो अनलाइन क्लास भ्याएर रानामगरलाई सघाउँछन् । ‘विश्वभर मान्छे संकटमा परेको यो समयमा हामीजस्ता युवाले आफूलाई सक्रिय बनाउनुपर्छ, मानवीय सहयोगमा लगाउनुपर्छ भनेरै लन्डनबाट आएर आमालाई सघाइरहेकी छु,’ सुवानी भन्छिन् । 

यस्ता मनकारीका कारण धेरै भोकाले पेट भर्न पाएका छन् । तर, पेट भरेर मात्र धेरैलाई सन्तोष छैन । कोठाभाडा तिर्न नसकेर धेरै अपमानित भएका छन् । आर्थिक संकट चुलिएपछि भक्तपुरको ढल–पाइप उद्योगमा काम गर्ने श्याम ढुंगेलले गाउँको धान बेचेर काठमाडौंमा कोठाको भाडा तिरे । हुन त ६५ वर्षे श्याम पहिलो लकडाउनमा नुवाकोट त्रिशूलीस्थित घर गएका थिए । तर, लकडाउन खुकुलो भएपछि काम पाइन्छ भनेर १ असारमा काठमाडौं आएका हुन् । ‘काम पाउनु त कता हो कता, उल्टै भोकले मरिएला भन्ने डर भयो,’ श्यामले सुनाए ।

पहिलोपटकको लकडाउनमा दुई दिन लगाएर हिँडेरै घर गएका थिए, तर यसपटक भने उनी हिँडेर नजाने पक्षमा छन् । ‘हिँडेर घर जान त हुन्थ्यो, बाटोमा भोक लाग्छ, प्यास लाग्छ । किनेर खानलाई सुको पैसा छैन,’ उनी भन्छन् । उता, चारजनाको परिवार पाल्नुपर्ने जिम्मा भएका श्यामलाई रित्तो हात गाउँ फर्किन मन छैन । ‘उनीहरूले खाने धान बेचेर कोठाभाडा तिरेको छु, त्यसैले पनि पाप गरेजस्तो लाग्छ । अहिले रित्तो हात कसरी जानु ?’ श्याम चिन्तित देखिन्छन् । 

निषेधाज्ञा जारी नभएको भए सञ्जीव राई होटेलमा काम गरिरहेका हुन्थे । होटेलकै आम्दानीबाट परिवार पालिरहेका हुन्थे । तर, होटेल बन्द भएपछि सञ्जीवको परिवार सडकमा आइपुगेको छ । खानाको खोजीमा बिहानदेखि सहर डुल्छन् । काभ्रेपलाञ्चोक पाँचखालका सञ्जीव श्रीमती र १२ वर्षे छोराका लागि खाना खोज्न दिनभर सहर डुल्छन् । ‘कता–कता, खाना, चिउरा बाँडिरहेका हुन्छन्, त्यहीँ खोज्न जान्छु,’ सञ्जीवले भने, ‘यो ठाउँ पत्ता लागेपछि एकछाक पेटभरि खान पाउन थालेको छु ।’

११ चैतमा लकडाउन भएपछि सञ्जीव परिवारसहित गाउँ गएका थिए । १ असारमा लकडाउन खुल्यो भनेपछि उपत्यका आएका सञ्जीवले होटेलमा काम सुरु गर्न नपाउँदै निषेधाज्ञा भयो । ‘अलि–अलि भएको पैसा पहिलो लकडाउनमै सकियो । खुल्यो भनेपछि काम गर्छु भनेर आएको अहिले फेरि बन्द भयो,’ सञ्जीव दुःख पोख्छन् ।

सञ्जीवको कोठामा खाना मात्र होइन, ग्यास पनि छैन । तीन महिनाको कोठाभाडा तिर्न नसक्दा घरबेटीबाट अपमानित हुनुपरेको छ । ‘कोठामा ग्यास, खाना केही छैन । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरबेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन्,’ सञ्जीवले सुनाए ।

फाइभ स्टार होटेल र्‍याडिसनबाट प्रधानमन्त्रीको घोषणा– अब कोही भोको पर्दैन

खुलामञ्चमा भोका नागरिकको कथा– रोजगारी गुमाएका जनताले के खाए भनेर सोच्ने सरकार भएन 

असार ०७५ मा राजधानीको र्‍याडिसन होटेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘अब हामी देशको एकजना नागरिक भोको छ–छैन, एकजना पनि नागरिक खान नपाएर त बसेको छैन कि भनेर पनि हेर्छौँ ।’ प्रधानमन्त्री ओलीले बारम्बार दोहोर्‍याएको नारा हो ‘नो स्ट्रिट पिपुल’ । अर्थात् सडकमा भोका कोही हुनेछैनन् । 

प्रधानमत्रीको बोलीको सिको गर्दै मंसिर ०७६ मा काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त घोषणा गर्‍यो । त्यसअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले १३ असोज ०७६ मै स्थानीय तहलाई सडक मानवमुक्त बनाउन निर्देशन नै दिइसकेका थिए । ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा संघीय सरकारको ०७५/७६ को बजेटमै उल्लेखित थियो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हर एक नागरिकले सबै सेवा र सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन । नेपाली भिखमंगा हुन सक्दैन । खान–लाउन नपाउने नेपाली हुन सक्दैन ।’ 

१५ वैशाख ०७६ मा प्रधानमन्त्री ओलीले सडकमा मानव देखे फोन गर्न आग्रह पनि गरेका थिए । १३ असोज ०७६ मा प्रधानमन्त्रीले भने, ‘अब छिट्टै सडक मानवमुक्त देश घोषणा गर्नेछौँ ।’ 

४ कात्तिक ०७६ मा प्रधानमन्त्रीले फेरि उद्घोष गरे, ‘अब सडकमा कोही सुतेको, जिंग्रिंग भएर बसेको देख्नुपर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपुल ।’

०७६-७७ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको कुरा पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी थिइन्, ‘मेरो सरकारले असहाय, बेवारिसे, संक्रमित र आश्रयहीन बालबालिकालाई संरक्षण र हेरचाह गर्नेछ, सक्षम नागरिक बनाई रोजगारीका अवसर उपलब्ध गराउनेछ ।’

२ जेठमा मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा गरिबीका कारणले कोही भोकै नमर्ने दाबी गरेकी थिइन् । 

सरकार, प्रधानमन्त्री र राष्ट्रपति मात्र होइन अदालतले पनि सडकमा आएका मानिसको व्यवस्थापन गर्नू भन्दै पटक–पटक सरकारलाई आदेश दिइसकेको छ । सर्वोच्च अदालतले सडकमानवको व्यवस्थापन गर्न भन्दै ०७३ मै सरकारका नाममा परमादेश जारी गरेको थियो ।

२६ जेठ ०७३ मा सर्वोच्चले ‘जीवन नै संकटमा परेका, अशक्त, परित्यक्त तथा घरबारविहीन बेवारिसे मानवको संरक्षणका लागि उचित वासस्थान र भरणपोषणको व्यवस्था गर्नू’ भनी सरकार तथा मन्त्रिपरिषद्का नाममा परमादेश जारी गरेको थियो । 
अदालत मात्र होइन, नेपालको संविधानको मौलिक हकमा ‘प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ’ भनी लेखिएको छ । 

सरकारका नीति तथा कार्यक्रम, बजेट, वाचा, सर्वोच्च अदालतको आदेश मात्र होइन, संविधानको मौलिक अधिकारको व्यवस्थाले सरकारलाई के गर्छ थाहा छैन, खुलामञ्चमा थाल थाप्न विवश नेपाली नागरिकको उपहास गरिरहेको प्रतीत हुन्छ ।

Source:https://www.nayapatrikadaily.com/news-details/50525/2020-09-04

Wednesday, August 26, 2020

जब एक युवती विरोधका लागि निर्वस्त्र सडकमा उत्रिइन् !

एजेन्सी, साउन ७ । यतिबेला अमेरिकामा नश्लीय विभेदको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । विरोधका अनेकन शैलीहरु देखिन्छन् ।

तर शनिबार राति अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको विरोध प्रदर्शनमा एउटा यस्तो दृश्य देखियो, जसले सारा संसारको ध्यान खिंचेको छ ।

जब प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हावामा टियर ग्यासको धुवाँ छाड्यो, प्रदर्शनकारीहरु लाखापाखा लागे ।

तर त्यही बेला टाउको र मुखमा कालो टोपी र मास्क लगाएकी एक युवती निर्वस्त्र भएर एक कुनाबाट एकाएक सडकमा देखिइन् । निडरतापूर्वक अगाडी बढेकी उनी सुरक्षाकर्मी नजिक पुगेर उभिइन् ।


सडकमा तितरबितर भएका प्रदर्शनकारी मात्रै हेरेका हे¥यै भएनन् अलि पर उभिएका प्रहरीले पनि के गर्ने नगर्ने अन्यौलमा परे र केही कारबाही गर्न सकेनन् । बरु ती युवतीले भने योगका विभिन्न आसन पो गर्न थालिन् ।

सारा मिडियाकर्मी, सुरक्षाकर्मी र प्रदर्शनकारीको ध्यान उनीतिर तानियो र क्यामेरादेखि मोबाइलसम्मले उनको विरोधको उक्त दृश्य कैद गर्यो ।

त्यही दृश्य र तस्वीर अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल बनेको छ । धेरैले उनको विरोधको शैलीको प्रशंसा गरेका छन् भने केहीले आपत्ति पनि जनाएका छन् ।


सुरक्षाकर्मीका अगाडी विभिन्न आसनमा योग गरेकी उनले केहीबेरपछि सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाइन् ।

बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीको साहसप्रति धेरैले उनको प्रशंसा गरेका हुन् ।

अमेरिकामा भइरहेको जातीय विभेदविरुद्धको मुद्दामा उनले विरोधका लागि यो शैली अपनाएकी हुन सक्ने बताइएको छ । नग्न तर निकै शान्त हाउभाउमा सडकमा पुगेकी उनी सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् ।

पोर्टल्यान्डमा कुनै उद्देश्यका लागि यसरी सार्वजनिक स्थलमा नाङ्गै भएर उपस्थित हुनुलाई पनि राजनीतिक अभिव्यक्तिका रुपमा लिने गरिन्छ । जसलाई अमर्यादित पनि मानिन्न ।

ती युवती को हुन्न भन्ने परिचय नखुले पनि सामाजिक सञ्जालमा उनलाई ‘नेकेड एथेना’ भनेर भाइरल बनाइएको छ ।

यसअघि सन् २००८ मा त्यही नग्न साइकल यात्रा गरिएको थियो ।


Source: https://www.imagekhabar.com


Thursday, June 18, 2020

इतिहासकै क्रूर जातीय नरसंहारको इतिवृत्तान्त

४ असार, काठमाडौं । केन्द्रीय राजधानीबाट सात सय किलोमिटर टाढाको जाजरकोट र रुकुमसँग राजधानीको निकै राम्रो परिचय छ । कहिले खाद्य संकटले, कहिले भोकमरीले, कहिले बाढी पहिरोले उक्त ठाउँले आफ्नो परिचय दिइरहन्छ । त्योभन्दा ठूलो परिचय यो ठाउँले १० वर्षे द्वन्द्वकालमा दियो ।

तत्कालीन माओवादीले असमानता, अन्त्याय, विभेदविरुद्धको क्रान्तिको इपिसेन्टर रुकुम र जाजरकोटले केन्द्रलाई थरथर पार्‍यो । रुकुम र जाजरकोटका अधिकांश घरमा परिवर्तनको विगुल फुक्नका लागि हँसिया हथौडा अंकित रातो झण्डा ठडिए । जनताको शासनका लागि जनकम्युनहरूले त्यही भूमिबाट बुलन्द आवाज उठाए ।

शान्तिप्रक्रियामा आएपछि आज पनि काठमाडौंका लागि निकै नजिकको साइनो छ रुकुम र जाजरकोटसँग । किनकि रुकुमकै जनार्दन शर्मा प्रभाकर र जाजरकोटका शक्तिबहादुर बस्नेत सत्तासीन दलमा छन् र बस्नेत त प्रत्यक्ष रुपमा सत्तामा नै छन् ।

यावत सकारात्मक पहिचानले सजिएको रुकुमले सबै प्रकारका क्रान्तिलाई नै थरथर पार्नेगरी अर्को एउटा नकारात्मक परिचय थपेको छ । अन्तरजातीय बिहे गर्नको लागि हिँडेका नवराज विकको समूहलाई कम्युनिस्ट पार्टीका वडाध्यक्ष डम्बर मल्ल र केटीको परिवारको योजनामा लखेटीलखेटी, कुटीकुटी छ जनाको क्रूर संहार गरिएको छ । नवराज र केटी दुवैको घरबाट देखिने भेरी नदीमा भेलसँगै क्रान्तिका यावत उपलब्धिलाई निर्दयी पाराले बगाइयो ।

त्योभन्दा दुखद् घटना त त्योभन्दा बढी क्रान्ति गरेरै आएका मन्त्री शक्ति बस्नेतले यति ठूलो क्रूर घटनामा अहिलेसम्म एकपटक पनि पीडितको परिवारलाई फोनसम्म गरेनन् । अर्का क्रान्ति लडेर आएका योद्धा जनार्दनले यो घटनामा मानिसहरू भेरीमा आफैँ हामफालेको प्रतिक्रिया दिए ।

नवराज र उनका साथीहरू हिँडेको बाटो पहिल्याउँदै हामी हत्याको ११ दिनपछि जाजरकोट–रुकुम पुग्यौं ।

ग्राउण्ड जिरो

२१ वर्षीय जवान नवराज विकको जीवन गत १० जेठबाट नयाँ मोडमा उभिँदै थियो । परिवारका सदस्यहरूको दाबीअनुसार अघिल्लो दिन नै उनकी प्रेमिकाले बिहेको निम्तो दिएकी थिइन् । फोन सम्वादपछि नवराजले हातमा कोरेको गृष्मा (नाम परिवर्तन) को ट्याटु हेरेर मुसुक्क हाँसेका थिए ।

१० गते नवराजको अनुहार अरू दिनको भन्दा चमकदार थियो । बिहानै उठे । कपाल काटे । नुहाए । खाना पकाए । आफ्नो कोठालाई चिरिच्याट्ट पारे । घर छेउकी सानीआमासँग पनि गएर भने, ‘आज आफैँ खाना पकाएको छु । तपाईं पनि मैले पकाएको खान आउनु है ।’

नवराजले मटेलाका माइली सानीमाका छोरा लोकेन्द्र सुनारलाई फोन गरे, ‘ए केटा ! आज सोती गाउँ भाउजू लिन जानु छ है । तेरो साथीहरूलाई पनि खबर गर्नू ।’

लकडाउनले नेपालगञ्जबाट सिक्दासिक्दैको सुनको काम छोडेर घर आएका लोकेन्द्र फुरुङ्ग भए । अतिविपन्न परिवारमा जन्मिएका लोकेन्द्रको पढाइ नौ कक्षाभन्दामाथि उक्लन सकेको छैन । दाइको बिहेको खुसी लोकेन्द्रले आमा लक्ष्मी सुनारसँग साटे ।

त्यतिबेला लक्ष्मीले नजिकै बगेको भेरीतिर फर्केर निधार खुम्चाउँदै भनेकी थिइन्, ‘ठकुरीको छोरी कहाँ हामीसँग आउँछन् र ?’ यी सबको के पर्वाह लोकेन्द्रलाई । भेरी नदी किनारमा भएको एक्लो घरबाट आफ्नो मटेला बजारका साथी गोविन्द शाहीलगायतका साथीलाई खबर पुर्‍याउन दौडिए ।

बिहेको खवर नवराजले घर तल्तिरका दाइ (साथी) सञ्जु बिक र गणेश बुढामगरलाई पहिले नै जानकारी दिइसकेका थिए । केही दिनअघि साथीको विवाह गर्दा पनि त्यसरी समूहमा गएका थिए ।

नवराजको चमक–ढमकमा शंका लागेर आमा उर्मिलाले भनेकी थिइन्, ‘खुब छाँट छ त ! काँ जाने होस् र ?’

नवराजले फ्याट्ट प्रश्न नै फर्काएका थिए, ‘काहीँ जान्न । सरसफाइ गर्न पनि हुन्न र ?’ तर, नवराज साढे १० बजेतिर घरबाट गायब भए । कुनै सूचनाविनै । उर्मिलालाई लाग्यो, सधैँ जाने साथीको घरमा वाइफाई चलाउन गएको होला ।

नवराज भने जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँको घर छोडेर अर्कै यात्रामा निस्किसकेका थिए । आफ्ना १० जना साथीको साथमा सोतीको यात्रामा । गृष्मा दुलही भएको कल्पनामा डुब्दै ।

लकडाउनको समय । सवारी सञ्चालनमा थिएनन् । तर सोती गाउँ उक्लिनुपूर्व करिब ३७ किलोमिटरको दुरी पार गरी भेरी नदी किनारसम्म झर्नुपर्छ । जहाँ विकासशील मटेला बजार छ । तर, नवराजहरू मटेला बजारसम्म पुगेनन् । बरु, मटलाबाट लोकेन्द्र साथीहरु बाकेर ढल्ला पुलनेर उक्लिए । त्यही पुलमा भयो नवराज र लोकेन्द्रको समूहको जम्काभेट । नवराजका साथी सुदीप खड्का भन्छन्, ‘ढल्ला पुलमा त्यस्तै साढे एक बजे भेट भएका थियौं ।’

तर, नवराजका नजिकका साथीहरूबाहेक कतिपयलाई बिहेको खबरले सडक बनायो । खेलकुदमा विलक्षण नवराजको जन्ती हुन पाएकोमा उनीहरूको मन चङ्गा थियो ।

नवराज यस्ता व्यक्ति थिए जो हाइजम्प, फुटबल, पौडी, कबड्डी र भलिबलमा उत्कृष्ट भएका दुई दर्जन बढी सर्टिफिकेट हात पारिसकेका थिए । आर्मीले खेलकुदमै उत्कृष्ट र अनुशासित भएबापत विद्यार्थीलाई दिने तीन महिना तालिम लिने ‘राष्ट्रिय सेवा दल’का क्यादर पनि थिए उनी ।

प्रमाण पत्र देखाउदै नवराजकी आमातर, गोपाल बुढाथोकी भने खै के सोचेर हो, ढल्ला पुल तरेपछि आफ्नो घर फर्किए । गोपाललाई हात हल्लाउँदै १८ जना युवाको समूह मध्यपहाडी करिडोरको बाटो जिउला बस्ती पार गरी स्याल खोलासम्म पुग्यो । करिब पाँच किलोमिटरको दुरी पार गर्दै ।

स्याल खोला अर्थात् मध्यपहाडी लोकमार्गको यो सडकमा केवल तीन घर छन् । त्यहीँबाट सानो गोरेटो छ गृष्माको घर उक्लने । यो त्यति धेरै आवत जावत हुने गोरेटो होइन । तर, गृष्माको घर पुग्न निकै छोटो बाटो भने हो । नवराजको समूह त्यही बाटो उक्लियो ।

घना जंगल । जंगलको बीच निकै ठाडो गोरेटो । सर्पको चालमा हिँडनुपर्ने । उनीहरू साल, माल र सल्लाका पातहरू टिप्दै, मुखमा च्याप्दै, सुसेल्दै उक्लिए । करिब १५ मिनेटको जंगलको दुरी पार गरेपछि सोतीको मुख्य गाउँ आइपुग्छ । करिब ३० वटा घर भएको । उनीहरू बस्ती छिचोल्दै सबैभन्दा सिरानको घर पुगे ।

रुकुम(पश्चिम) चौरजहारी नगरपालिका – ८, सोती गाउँमा ।  पुरानो दरबार शैलीको घरलाई रातो माटो र कमेरोले पोतिएको छ । ढुंगा बिच्छ्याइएको घरको कम्पाउण्ड सलक्क छ । तीनतले घरको दुईपाते ढुंगाको छाना छ । घर छेउबाटै कच्ची मोटरबाटो सोझिएको छ । गृष्माको घर यही हो ।

नवराजको समूह त्यही मोटरबाटोमा रोकियो । ग्रिष्माकी आमा प्रकाशी मल्लले देखिहालिन् ।  सँगै पुगेका महेश कार्की भन्छन्, ‘गृष्माकी आमा घरछेउबाट चिच्याउनुभयो – तिमीहरू डुमलाई अस्ति कुटेर पुगेन ! मार्नै पर्ने हो …..। हामी गाली सहन नसकेर फर्कियौं । भयो, बिहे पछि गरौंला भन्दै ।’

गत वैशाखमा नवराज नीलै भएर दाहिने आँखाको नीलडाम बोकेर फर्किएका थिए । १७ वैशाखमा बसेको नवराजको आँखाको नीलडाम अझै निको भइसकेको थिएन ।

परीक्षा सकिएलगत्तै गृष्माका भाइ लक्षुमान नवराजको घरमा बस्न पुगेको उनकी भाउजू बताउँछिन् । एक हप्ता बढी विताएपछि नवराज नै लक्षुमान(१३)लाई सोती गाउँमा पुर्‍याउन पुगेका थिए । गाउँलेहरुका अनुसार केही दिन बसेपछि नवराज नै लक्षुमानलाई सोती गाउँमा पुर्‍याउन पुगेका थिए । नवराजले लक्षुमानलाई परिवारको जिम्मा लगाउन नपाउँदै वडा अध्यक्ष डम्मर मल्ल झुल्किए । केटीको घरभन्दा दुई घर तल छ नीलो रङले पेन्टिङ गरिएको वडाध्यक्ष डम्बर मल्लको घर । तत्कालीन माओवादीका जनमुक्ति सेना हुन्, उनी ।

चार वर्षको छोरालाई काखमा च्यापेकी गृष्माकी भाउजू भन्छिन्, ‘विनोद र लोकेन्द्र मल्लले त्यतिबेला नवराजलाई झापड हान्दै सम्झाइस्या’थ्यो ।’

अनि अध्यक्ष डम्बरले चौरजहारीका प्रहरीलाई बोलाएर नवराजलाई हिरासतमा कोचे । किनकि कथित उच्च जातकी युवतीलाई प्रेम गर्नु नवराजको ‘ठूलो अपराध’ थियो । प्रहरीको अनुसन्धानले भन्छ कि नवराजको यो ‘अपराध’ बारे गाउँलेलाई पहिल्यैदेखि थाहा थियो । प्रहरीको अनुसन्धानले नवराज चारपटकसम्म गृष्माको घरतर्फ गएको देखाउँछ ।

चौरजहारी प्रहरीबाट फोन आएपछि नवराजकी आमा उर्मिला झसंग भइन् । हुत्तिँदै आफ्नो छोरालाई छुटाउन अर्को दिन ११ बजे नै पश्चिम रुकुमको चौरजहारी प्रहरी चौकीमा हाजिर भइन् । उर्मिलालाई तत्कालै आफ्नो छोरा घर लिएर जान मन थियो । एउटा छोरा नवराजलाई काँडाले सानो घाउ बनाउँदा पनि उर्मिला अत्तालिन्थिन् । तर साँझ पाँच बजेसम्म कुर्दा पनि प्रहरीबाट छुटाउने सुरसार देखिएन । किनकि, थुनाउने मानिस नै त्यहाँ उपस्थित थिएनन् ।

साँझ पर्न थालेपछि प्रहरीले रेडिमेड कागज लिएर उर्मिला र नवराजलाई हस्ताक्षर बनायो अनि हिरासतमुक्त गरिदियो । त्यो पत्रमा के लेखिएको थियो, उर्मिलाले त पढ्न पाइनन् । तर, इलाका प्रहरी कार्यालय चौरजहारीका इन्स्पेक्टर धर्म विष्ट भन्छन्, ‘साँझ पाँच बजेतिर वडाध्यक्षले छोडिदिनू भनेपछि अबदेखि लकडाउनका बेला यता नआउनू भनी कागज गरी छोडिदियौं ।’

त्यति नै बेला छोराको आँखाको नीलो दाग देखेपछि फटाफट हिँड्दै उर्मिला बर्बराएकी थिइन्, ‘अब कहिल्यै त्यहाँ नजानू । प्रेमलाई हिंसा गर्ने ठाउँमा जानुहुँदैन ।’

नवराजले टाउको हल्लाएका थिए ।

‘बिहेको उत्सव’ नरसंहारमा बदलियो

प्रेमले बोलाएपछि प्रेमकै बलले नवराज फेरि जेठमा सोती पुगे । प्रहरीका अनुसार ०७५ पुसदेखि नवराज र गृष्माको औपचारिक रुपमा प्रेम रहेको देखाउँछ । र, दुईपटक नवराजकै घरमा पुगेर रात विताएकी थिइन् ग्रुिष्माले । एक पटक मेला हुँदा र अर्को पटक नवराजको आन्टिको छोराको जन्मदिनमा । काकी पूर्णिमा विक भन्छिन्, ‘सानो गुडिया पनि उपहार ल्याइदिएकी थिइन् ।’ त्यतिबेलाको ग्रिष्माको व्यवहारले उर्मिलालाई बुहारकिो झल्को मेटाउँथ्यो ।

तर, १० गते आफ्नो प्रेमिकाको अनुहार पनि हेर्न नपाई नवराज बाटोबाटै सिधै पूर्वतिरको बाटो लागे । धुलाम्मे मोटरबाटैबाटो ।

सातदेखि १० मिनेटको पैदलयात्रापछि कुवा(नाउ)सम्म पुगे । कुवाको चिसो पानीले अनुहार शीतल बनाए । तल खोचमा सुसाइरहेको भेरी हेर्दै थकान मारे । बेपत्ताले उर्लिएको भेरी क्षितिजसँगै सकिन्छ ।

त्यहाँबाट पाँच मिनेट झरेपछि विनोद मल्लको घर आउँछ । यो तीन घरको बस्ती हो । विनोदकी फुपु चन्द्राका अनुसार नवराजको समूह विनोदको घरमा पुग्यो र विनोद नभएको खवर पाएपछि सिधै जंगलको बाटो झर्‍यो ।

विनोदको घरभन्दा तल जंगल छ । नवराजको समूह जंगलै जंगल सल्लाको पात कुल्चिँदै दौडियो । समूह ठूलो भएकाले कोही निकै अघि त कोही पछि थिए । लकडाउन भएकाले पनि उनीलाई एउटै समूह बनाएर हिँड्न डर थियो । भोला बीसी भन्छन्, ‘नवराजसहित छ/सातजनाको समूह हामीभन्दा धेरै पछि थिए ।’

करिब साढे दुई किलोमिटरको बाटो पार गरी उनीहरू मध्यपहाडी लोकमार्गनेर झुल्किए । सडकमा नझर्दै एउटा ढुंगा छ । उनीहरूको समूह त्यही ढुंगामा केही छिन विश्राम गर्‍यो । त्यहीँबाट आफ्नो गाउँ जाजरकोटको खलंगा बजारलाई सरसर्ती नियाले । भेरीपारि डाँडाको टुप्पामा देखिन्छ भिरालो खलंगा बजार ।

सल्यानको सल्लेरी हुँदै आएको यो लोकमार्ग भेरीको किनारैकिनार रुकुमतर्फ लम्किएको छ । जहाँ दुई घुम्ती छन् । करिब एक किलोमिटर पर जाजरकोट र रुकुम साँधको भेरी अनन्तसम्म अविरल छ । साँझको त्यस्तै साढे पाँच बजेकाले भेरी नदीको क्षितिज अँध्यारिँदै थियो ।

उनी त्यो ढुंगाबाट भर्खर घुम्तीमा झरेर पाइला के सार्दै थिए ठूलो होहल्ला उनीहरूको कानमा कोलाहाल मच्चाउन आइपुग्यो ।

घाइते सुदीप खड्का भन्छन्, ‘हाम्रैपछि दौडिँदै आइरहेका थिए थुप्रै मानिसहरू । एकथरी जंगलतर्फबाट, अर्कोथरी मध्यपहाडी बाटो हुँदै । उनीहरूको हातमा हँसिया, दाउरा, किला थिए । कोही घुम्तीको भिरबाट हाम फाल्यौं कोही बाटैबाटै रुकुमतर्फ दौडियौंं । तर रुकुमतर्फबाट पनि उत्तिकै संख्यामा मानिसहरूले हामीलाई नै प्रहार गर्दै आइरहेका थिए ।’

गाउँ यसरी उल्टिएको थियो कि तत्कालीन माओवादीले सत्तापक्षलाई आक्रमणका लागि घेराउ गर्न जत्तिकै उनीहरूले अहिले अन्तरजातीय बिहेलाई निषेध गर्नका लागि योजना बनाएका छन् । आफूहरूविरुद्ध गाउँ नै उल्टिएपछि १६ देखि २२ वर्ष उमेरसमूहका ती युवाहरू हायल–कायल भए । अब उनीहरूका लागि एउटा मात्र बाटो विकल्प बन्यो कि भेरी नदीतर्फ झर्ने ।

भेरी नदी पुग्नका लागि करिब एक किलोमिटरको मकैबारी फाँट पार गर्नुपर्छ । उनीहरू त्यही फाँटतर्फ दौडिए । छेउमै गोइरी जिउलाका स-साना दुई गाउँ छन् । तर, आक्रोशित समूहको घेराबन्दीसामु उनीहरूको गति धीमा बन्यो । मकैबारी, धुलाम्मे सडक, भेरी नदीको किनार रणमैदान बन्यो । । सोतीकै गोइरी जिउलाबासी रमिते बने ।  सोतीको चारदेखि पाँचवटा गाउँ नवराजको समूहमाथि खनिएको प्रहरीको अनुसन्धानले भन्छ ।

घाइतेहरूका अनुसार एकदेखि डेढसय जना उनीहरूमाथि खनिएका थिए । घाइते सुदीप कुहिनामा हँसियाले हानेको लामो घाउ देखाउँदै भन्छन्, ‘माथि भिरमा बसेर हेर्ने महिलाहरूको समूह पनि ठूलो थियो । खासगरी युवाहरूले आएर हामीलाई कुट्न थालेका थिए ।’

बिहेको उत्सव मनाउन हिँडेका युवाहरू बलिको बोको जसरी मकै बारीमा ढल्दै थिए ।

कतिपय फुत्केर फेरि नदीको किनारसम्म पुगे । त्यति हुँदा पनि उनीहरूलाई सुख थिएन । हँसियाले हानेर सुन्निएको मेरुदण्ड देखाउँदै घाइते जीवन खड्का भन्छन्, ‘एकजनालाई १०/१२ जनाले कुटिरहेका थिए । एकैपटक टाउकोदेखि खुट्टासम्म चोट लाग्थ्यो ।’

। उनीसँगै भएका अर्का घाइते मदन शाही भन्छन्, ‘मेरो छाती दुखेर सुत्नै भएन । अहिलेसम्म छुन भएको छैन ।’

घटना भएको १५ दिनपछि घाइतेहरूले हामीलाई खलंगा बजारमा बसेर यी सब सुनाइरहेका छन् ।

र, पनि पाँचजना नदी पार गर्न सफल भए । पाँचजना नदिबीचको भंगालोमै अड्किए । उनीहरू एकै स्वरमा भन्छन्, ‘तर हत्या भएका ती ६ जनालाई हामीले कतै पनि देखेनौं ।’

घटनाको इतिवृतान्त

मध्यपहाडी लोकमार्ग पार गर्दै पाखैमा उनीहरूमाथि आक्रमण भएको हुन सक्ने उनीहरूको अनुमान छ । हत्या गरेपछि खोलामा फालिदिएको प्रहरीको वयानमा अभियुक्तहरुले स्वीकारेका छन् ।

उनीहरूलाई नदीमा पनि ढुंगाले पच्छाइरह्यो । जब उनीहरू नदी पार गरे, त्यहाँ पनि उनीहरूलाई आक्रमणका लागि ढुकेर बसेको अर्को टोली थियो । जो सोतीको गाउँबाट फुटबल खेल्ने निहुँमा कालागाउँसम्म पुगेको थियो ।

प्रहरीका प्रमुख अनुसन्धान अधिकृत एसएसपी पोषराज पोखरेलका अनुसार नदी पारि ११ जनाको समूह उनीहरूमाथि आक्रमण गर्नका लागि कुरेर बसेका थिए ।

त्यही रणभूमिपारि कालेगाउँमा प्रहरी चौकी छ । त्यहाँबाट नाङ्गो आँखाले घटनास्थलको गतिविधि मसिनो गरी देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रहरीले घटना देखेपछि पारिबाट सिठी फुकेको छ । तर हामीलाई ६ः१५ मा मात्र वडाध्यक्षमार्फत जानकारी आएको हो ।’

त्यसपछि मात्र प्रहरी चौकीको असईको नेतृत्वमा चारजना प्रहरी साढे छ बजे मात्र घटनास्थलमा पुग्छन् । घाइते गोविन्द सुनार भन्छन्, ‘प्रहरीले पारिबाट सिठी फुकेको थियो । हामीमाथि कुटपिट भइरहेको थियो ।’ दुई जनालाई प्रहरीले बाटो नेरै कुटपिटकै अवस्थामा भेटाएको थियो ।

घटनास्थलमा पुगेपछि जाजरकोट प्रहरीले १२ जना घाइतेलाई समात्यो । तर आक्रमणकारीलाई प्रहरीले निष्फिक्री छाडिदियो । हँसिया, लठ्ठी, किलासहितका आक्रमणकारीलाई न पक्राउ गर्‍यो न सोधपुछका लागि चौकीमा पुर्‍यायो ।

जाजरकोटको प्रहरीले सात किलोमिटरको दुरी पार गरेरर जिल्ला पुगेको चौरजहारीका चौकीका इन्स्पेक्टरको टोलीलाई घाइतेहरु बुझाइदिए । इन्स्पेक्टर धर्म भन्छन्, ‘हामीले घाइतेलाई नौ बजे हस्पिटलमा पुर्‍यायौं । सुदीप र उसको साथी गम्भीर घाइते भएकाले हस्पिटलमै राख्यौँ र अन्य १० जनालाई प्रहरी चौकीमा राख्यौं ।’

भेरी नदीको चिसोपानीले लुछुप्पै परेर थरथरी कापिरहेका घाइतेलाई चौरजहारी प्रहरीले रातको एक बजेसम्म केरकार गर्‍यो ।

उता साढे छ बजे नै भेरी नदीको बीच भागमा शव भेटिएको खबर नवराजकी आमा उर्मिलाको कानमा पर्‍यो । उनी बत्तिँदै ७ बजे नै जिल्ला प्रहरी कार्यालय जाजरकोट पुगिन् । उनलाई लागेको थियो कि फेरि पनि छोरालाई कतै प्रहरीले त लगेन । तर रातको ११ बजेतिर बहिनी लक्ष्मीले उर्मिलालाई रुँदै फोन गरिन्, ‘नवराजलाई त भेरीमा बगाइदिए क्यारे ।’ यो अकल्पनीय खबरले नवराजको घर रोदन घर बन्यो ।


उर्मिला बुर्कुसी मारेर भेरी नदी किनारमा पुगेर आफ्नो छोरालाई अँगालो हाल्न चाहन्थिन् । तर, उर्मिलाका श्रीमान् र केही आफन्त भेरी नदीतिर लागे । नवराजका बाबाले बाटैभरि कामना गरेका थिए । त्यो सब कुनै हालतमा पनि मेरो छोराको नभइदियोस् ।

नवराजका बाबाको समूह भेरी नदीको किनारमा पुग्दा रातको एक बजिसकेको थियो । केहीबेरअघिको निरन्तरको हावाहुरी र भारी वर्षा रोकिएको थियो । केही प्रहरीसहित दुई/चारजना मानिस खोलाको किनारमा भेरीबीचको लास रुँघेर बसेका थिए । कपडाबाटै नवराजका बाबाले थाहा पाइहाले – त्यो मेरै छोरा हो । उनी बेहोस् भई बगरमै ढले ।

नवराज भेरीको बीच बगरमा चुपचाप घोप्टो परेर सुतेका थिए । उनको छेउमा झोला थियो । सुसाइमात्र रहने भेरी नदीको छालले बेलाबेला उनलाई हिर्काउथ्यो । सर्टको फेरो फर्फराउँथ्यो । मध्यरातमा चुनको धुमिल उज्यालोले यी सब दृश्य देखाउँथ्यो । नवराज भेरीको बगरजस्तै चुपचाप शान्त थिए ।

उनको प्रेम शान्तसँग भेरीको सुसाहतसँगै अलप भएको थियो । नवराजका बाबा भन्छन्, ‘हात भाँच्चिएको थियो । टाउको ढुंगाले थिचेको थियो । टाउकोमा गहिरो खोपिल्टो परेको थियो ।’ प्रहरीको रिपोर्टले भन्छ, ‘रातको एक बजे शव नवराजकै हो भन्ने सनाखत भयो ।’

पश्चिम रुकुमका डीएसपी ठकबहादुर केसी भन्छन्, ‘त्यतिबेलासम्म एकजनाको मात्र मृत्यु भयो भन्ने खबर आयो । अरू कतै भागेका होलान् भनेर पनि हामी त्यति धेरै सिरियस भएनौं ।’

अर्कोदिन आठ बजे मात्र जाजरकोटको प्रहरीले नवराजको मुचुल्का उठायो । यता पश्चिम रुकुमले साढे सात बजे १० जनाको अनुसन्धान टोली घटनास्थलमा पठायो । ठकबहादुर भन्छन्, ‘हामीले घटनास्थलमा एउटा सग्लो र एउटा भाँचिएको लाठी भेटायौं ।’

नवराजलाई जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट पुर्‍याउँदा दिउसोको दुई बजिसकेको थियो ।

जाजरकोटको खलंगा र मटेलाको गाउँ नै नदीको किनार नै किनार नवराजका अन्य साथीहरू खोज्न निस्किएका थिए । उनीहरूका साथमा प्रहरी पनि थिएन ।

साँझको ५ः३० बजे स्थानीयले भेरी नगरपालिका ११ खोदाखोला स्थानीयले टीकराम नेपालीको शव भेटाए । पछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठायो ।

डीएसपी ठकबहादुर भन्छन्, ‘अर्कोदिन पनि शव भेटिएपछि बल्ल हामी यो त निकै ठूलो घटना भएछ भनी सिरियस भयौँ ।’

तर, प्रहरीले वडाध्यक्ष र परिवारका तीन सदस्यलाई १२ गते मात्र सोधपुछका लागि लग्यो । वडा अध्यक्षलाई १३ गते फेरि घर फर्कायो । डीएसपी केसी भन्छन्, ‘१३ गते हामीले सिभिलमा हाम्रा साथीहरूलाई पठायौँ । त्यो क्षेत्र सिल गरेर १४ गते बिहान १८ जनालाई पक्राउ गर्‍यौं ।’

जेठ १२ गते जाजरकोटको प्रहरीले जाहेरी लिन नमानेपछि १३ गते आन्दोलनसहित सोतीका २० जनाविरुद्ध जाहेरी दर्ता गरेको कुशे गाउँपालिका–१, गोपालबहादुर नेपाली सुनाउँछन् ।

नवराजको घर तल्तिर सञ्जु, त्योभन्दा तल गणेश बुढा मगरको घर छ । एनसीसीमा छनौट भई सँगै तालिम लिने गणेश बुढा पनि थिए । खेलकुदका पनि हितैसी । २३ गते उनको घर पुग्दा पाँच सय रुपैयाँको डेरामा गणेशको फोटो छेउमा अगरबत्ति बलिरहेको थियो । त्यो कोठामा सुत्ने खाटसम्म थिए ।

जेठ २३ गते पाँच सय रुपैयाँको डेरामा गणेशको फोटोको छेउमा अगरबत्ती बलिरहेको थियो । कोठामा सुत्ने खाटसम्म थिएन ।

गणेशको बाबा-आमा दुवै घरको मिस्त्री काम गर्थे । उनीहरु बिहानै सात बजे घरबाट निस्कन्थे । ११ बजे खान खान पुग्थे अनि फेरि रातिमात्र डेरा फर्कन्थे । १० गते भने आमा राधिकाले खशीको मासु लगेर पकाउन अह्राएकी थिइन् । तर, गाणेश अलि पछि गरौँला भनेका थिए । छोराको सुरसार नदेखेपछि चार बजे फेरि राधिकाले छोरालाई फोन घुमाइन्, ‘बाबु बेलुकीलाई खशी मासु लगेर पकाएर राख है !’ गणेशले फोनमै जवाफ फर्काए, ‘आज कुदुतिर आएको छु, अलि ढिला हुन्छ होला । नआउन पनि सक्छु ।’

त्यसपछि एकै पटक १२ गते चार बजे भेरी नगरपालिका १२ फेरामा गणेश बुढा भेरीमा तैरिरहेको अवस्थामा भेटिए । आमा राधिका भन्छिन्, ‘एकापट्टिको पूरै भाग सुन्निएको थियो । अरू हेर्न सकिनँ ।’

छोराको मृत्युको पीडाले उनी सुत्न पनि सकेकी छैनन् । उनले बसेको घरमा छोराको किरियासम्म गर्न दिइएन । बलिन्द्र धारा आँसु पार्दै भक्कानिन्छिन्, ‘नदी पार गर्दैगर्दा ढुंगाले हानेर मारेछन् । हामीलाई न्याय दिनुस् । हत्यारालाई जन्मकैद गरिदिनुस् । हाम्रो त कोही छैन, कहाँ जाऔं ।’

जेठ १४ गते दिउँसो साढे एक बजे नै भेरी नगरपालिका १३ राक्सेमा लोकेन्द्र सुनारको शव भेटियो । गणेश शाहीको टिमले उनको शव भेटाएका थिए । मटेलाको भेरी नदीको किनारमै लोकेन्द्रको घर छ । एक तले, फलेकले बारेको ।

ऐलानीको सानो झुप्रोबाहेक कमाइ खाने उनीहरूसँग जमिन छैन । नदी किनरमै घर भएकाले लोकेन्द्र पौडीमा च्याम्पियन । त्यसैले आमा लक्ष्मीलाई लास नभेटिँदासम्म पनि छोरा पक्कै फर्किन्छ भन्ने आश थियो ।

सुसाइरहेको भेरी नदी गहिरो गरी हेर्दै लक्ष्मी भन्छिन्, ‘छोरालाई यसरी कुटिएको थियो कि मैले चिन्नै सकिनँ । उसले लगाएको कपडाले मात्र ठम्याएको हुँ । आँखै थिएन ।’

एक वर्षपहिले मात्र गाडी दुर्घटनामा श्रीमान् गुमाएकी लक्ष्मीलाई यो अर्को ठूलो बज्रपात थियो । जेठो छोरा भिसा सकिएपछि मलेसियामा भागीभागी जीवन धानिरहेका छन् । बेसाहारा लक्ष्मीलाई एकातिर शोक छ, अर्कोतर्फ भोकको चिन्ता छ ।

लोकेन्द्रका शव भेरी किनारसम्म तानेका गणेश भन्छन्, ‘उसको  शवबाट रगत बगिरहेको थियो । कुटाइले अण्डकोष सुन्निएर बेलुनजस्तो भएको थियो । शरीरभरी हेर्नै नसक्ने विभत्स चोट थियो । हात पछाडि लगेर डोरी बाँधिएको थियो । हामीले लास झिक्दा चुडियो ।’

त्यतिबेलासम्म देशव्यापी रुपमा हत्याको विरुद्ध आन्दोलन उर्लिसकेको थियो । मृतकका आमाहरु दैनिकरुपमा जिल्ला प्रहरी कार्यालयमा जाँदै न्याय माग्न थालेका थिए । घाइतेहरूको वयान दिँदैमा दैनिकी बित्थ्यो । कहिले पुलिसलाई, कहिले अधिकारकर्मीलाई, कहिले मिडियालाई, कहिले….. ।

तर, उनीहरूको उपचारमा कुनै संयन्त्रले ध्यान दिइरहेको थिएन । उता अनुसन्धान भइरहेको पश्चिम रुकुममा भने विरोधको कुनै स्वर सुनिएको थिएन । बाहिरीरुपमा रुकुम यति शान्त थियो कि मानौं यहाँ केही पनि भएको छैन ।

स्थानीयको अवरोधबीच तीन दिनपछि प्रहरीले पोस्टमार्टम गर्‍यो र शवको अन्त्येष्टि गरियो । धेरैले विवादित यस घटनाको शव जलाउन नहुने तर्क गरिरहेका थिए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ भन्छन्, ‘तीन दिन भइसकेकाले लास दुर्गन्धित भइसकेका थिए । हामीसँग लास राख्न सक्ने आइस थिएन । त्यो सानो शवगृहमा कसरी राख्न सम्भव हुन्छ ? पोस्टमार्टमपछि त्यो कुहिएको शव राखेर पनि के काम छ र ?’

दुईजना अझै गायव थिए । सञ्जु विक र गोविन्द शाही । गाउँलेहरूले रातदिन नभनी लासको खोजीमा थिए । १४ गते गोताखोर पनि भेरीमा पुगेको थियो ।

शव खोज्न हिँडेका जनक रोकाया भन्छन्, ‘गोताखोर आएकै दिन उनीहरूको डुङ्गा पल्टियो । त्यसपछि उनीहरू आराम गरेर बसे । सबै शव हामीले नै खोज्यौं र भेट्टायौं ।’

सवर्ण, जनक रोकाय, हरी कार्की, ज्ञान शर्मा, गणेश शाहीलगायतको समूहले १५ गते साँझ तीन बजे सञ्जु विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा भेटियो । सञ्जुका २० वर्षीय श्रीमती सविना र पाँच वर्षका छोरा छन् ।

१० जेठमा नवराजका लागि बुहारी लिएपछि साँझ बर्थडे मनाउने भन्दै सञ्जु घरबाट निस्किएका थिए । तर, शव बनेर भेटिए । ‘धारिलो हतियारले हानेर घाँटीमा दुलो परेको थियो । आँखा र अनुहारभरि चोट थियो’, सञ्जुकी आमा उनकी सविना भन्छिन, ‘आर्मी बन्छु भन्थ्यो !’

छेउमा उभिएकी सविना सेतो कपडामा अवाक थिइन् । सायद उनी आफ्नो र सन्तानको भावी जिन्दगीबारे कल्पिरहेकी छन् ।

घटना भएको ९ दिनसम्म पनि गोविन्द शाही कुन दुलोमा थिए, कसैलाई पत्तो थिएन । गाउँले रात दिन लगाएर त्यही भेरीको किनार तलदेखि माथिसम्म खोज्न काहीँ बाँकी राखेनन् ।

जेठ २० गते भेरी नगरपालिका -११, खोदाखोलामा बेलुकीको ३ः३० बजे गोविन्द शाहीको शव भेटियो । जुन, दोस्रो दिन भेटिएको टीकाराम नेपालीको शवनजिकै थियो ।

शवको खोजीमा खटिएका सुवर्ण रोकाया अचम्म मान्दै भन्छन्, ‘दिनदिनै त्यो एक एक कुनाकाप्च हेर्दै हिँड्यौं, देखिएन । तर, एक्कासी २० गते त्यो ठाउँमा कसरी शव आइपुग्यो ? शव निकाल्नेहरुका अनुसार गोविन्दको घाँटी भाँचिएको थियो ।

शव भेटिएको पाँच दिनपछि गोविन्दको घरमा पुग्दा आमा कपाल फिँजाएर झोक्राइरहेकी थिइन् । छेउमा गोविन्दको फोटो थियो । किरिया कर्म सकिसकेको थिएन ।

‘एउटा कानै थिएन, शरीरको कुनै पनि भाग चोट नलागेको, सद्दे थिएन’, गोविन्दकी फुपू यमुनाले भनिन्, ‘नाक ढुङ्गाले थिचिएर थिलोथिलो थियो । अगाडिका दाँत नै थिएनन् । हामीले उसको कपडाले मात्र चिनेका हौं ।’

यसरी एउटा अन्तरजातीय बिहे आँट्दा छ जनाले आहुती दिनुपर्‍यो । घटनाको तीन हप्तापछि प्रहरीले अनुसन्धान सकेर वकिल कार्यालयमा बुझाइसकेको छ ।

प्रहरीको अनुसन्धानले उक्त घटना योजनाबद्ध तरिकाले गरिएको र कुटेर हत्या गरी भेरीमा फालेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको प्रमुख कारण अन्तरजातीय बिहे र जातीय विभेद भएको बताएको छ । ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । तर अस्पतालले भने पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको छ ।

अहिले नवराजकी आमा प्रहरी र आर्मीले छोरालाई दिएका प्रमाणपत्र, ड्रेस, फोटो र किताबहरू हेर्दै दिन काटिरहेकी छन् ।

उनलाई आफ्नो छोरो लफंगा र कुलतमा फसेको भनेर हल्ला चलाइएकाले झन् धेरै पोलेको छ ।

‘दुनियाँलाई थाहा छ कि मेरो छोरो बदमास थिएन । आज मेरो छोरालाई मारेर मात्र पुगेन, आवारा र ट्यापे भन्दै हल्ला चलाउँदा एउटी आमालाई कस्तो भयो होला ?’, उर्मिला भक्कानिन्छिन् ।

उर्मिला नजिकैको स्कुलमा कार्यालय सहायकको जागिरे हुन् । आँसु पुछ्दै फेरि पुरानै अवस्था फर्किन्छिन्, ‘मेरा छोराहरूले न्याय पाउनुपर्छ । तपाईंहरू बोल्नुस् । म पनि बोल्छु ।’

Source: https://www.onlinekhabar.com/2020/06/874243

for Research only!


Tuesday, June 16, 2020

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

३ असार, काठमाडौं । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।

यसअघि भारतीय सेनाले एक सैनिक अधिकारी र दुई जवानको मात्र मृत्यु भएको जानकारी दिएको थियो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।

चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ । जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ । जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो । म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस् ।’

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोलमा सोमबार दुवै देशबीच हिंसात्मक झडप भएपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसहित समीक्षा बैठक आयोजना गरेका थिए ।

रोपाइँ नसकिँदै सरकारले तोक्यो धानको समर्थन मूल्य

३ असार, काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको मूल्य तोकेको हो ।


आर्थिक वर्ष ०७७/७८ को लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य तोकिएको हो । ‘सुनिश्चित बचत, संरक्षित कृषि’ भन्ने नीतिअन्तर्गत मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषदमा पेश गरेको थियो ।

चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक धानको मूल्य निर्धारण भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि भने सरकारले मोटा धान प्रतिक्विन्टल २५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।


www.onlinekhabar.com


Monday, June 15, 2020

बुवा, दाइ र गाउँलेले नवराजलाई कुटीकुटी मारे होलान

बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं: किशोरीकी आमा

रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्।

उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृत्यु भएको कुरा भने आफूले  अर्को दिनमात्र थाहा पाएको बताएकी छन्।

'सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनें,' उनले भनेकी छन्, 'पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पुर्‍याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।'


नवराजसँग २०७५फागुनदेखि फेसबुकमा चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट भइनै रहेको उनले बताएकी छन्। नवराजले आफूसँग विवाह गरौं भनिराखे पनि आफूले उमेर सानै छ भन्दै आएको बयान पनि उनले प्रहरीलाई दिएकी छन्।

'फोनमा मलाई विवाह गरौं भन्ने कुरा गर्थ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ,' उनले भनेकी छन्। 

नवराज घटना हुनुअघि पनि दुई-चार पटक आफ्नो गाउँमा आएको बताएकी छन्।

'केही समयअघि (मिति सम्झिन नसकेको) नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको हो,' उनको बयानमा उल्लेख छ, '२०७७ साल वैशाख १७ गते राति ८-९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए।’

त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन्। उनको बयान अनुसार, घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा उनलाई थाहा थिएन।

'मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,' बयानमा भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ। आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ।'

जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ।

'आमाले गाली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,' उनले भनेकी छन्, 'तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन।'

उनलाई र उनकी आमालाई ६ जनाको हत्या गर्नेहरूको मतियार भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको छ। आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई कुटीकुटी क्रुरतापूर्वक मारेको उल्लेख छ।

उनीहरूविरूद्ध क्रुरतापूर्वक हत्या जातीय छुवाछुत र ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइएको छ। क्रुरतापूर्वक हत्या गरेकोमा कानुनअनुसार बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी विकल कार्यालयले गरेको छ। जातीय छुवाछुतमा पाँच वर्षसम्म कैद र क्षतिपूर्ति अनि ज्यान मार्ने उद्योगमा १० वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ।

किशोरीकी आमाले नवराज छोरी लिन आए मार्ने योजना रहेको बयान दिएकी छन्।

'मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थुतेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई,'  उनले बयानमा भनेकी छन्, 'जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ।  ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं।'

नवराज त्यो दिन घरनजिकै आएको देखेपछि आफूले 'तँ डुम फेरि किन आइस् आज मर्छस्' भन्दै धम्की दिएको उनले प्रहरीलाई बयान दिएकी छन्।

उनले दिएको बयान अनुसार, गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन्। नवराजहरू भागेर तल गए।

'र पूर्वयोजना बमोजिम मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे,' उनले भनेकी छन्, 'मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ। केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए।'

उनको बयान अनुसार, योजनामुताविक वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा लाठी, ढुंगा, हँसिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिरबाट घेरा हाले। 

'त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ। केटाहरूलाई लखेट्दै भेरी नदी पुर्‍याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,' उनको बयानमा उल्लेख छ।

किशोरीका बुवाको बयानबाट उनको बयान पुष्टी हुन्छ।

उनले केटाहरू घरमा आएपछि श्रीमतिले आफूलाई, आफूले वडाध्यक्षलाई फोन गरेर खबर गरेको बताएका छन्। उनले वडाध्यक्षलाई उद्धृत गर्दै भने - जति सम्झाउँदा पनि नटेरेकाले तह लगाउनुपर्छ म गाउँलेलाई बोलाउँछु।

उनको बयानमा आफूसहित गाउँलेहरू जम्मा भएर नवराजहरूलाई ढुङ्गा, लाठी हान्दै लखेटेको र केटाहरू बाध्य भई भेरी नदीको बगरतिर दौड्दै हाम फालेको उल्लेख छ।

'गाउँलेहरूले मृतकसमेतका केटाहरूलाई पछाडिबाट लाठी ढुङ्गा हान्दै लखेटेका र भेरी नदी पुर्‍याई मारेका थिए,' उनको बयानमा उल्लेख छ, 'मसमेत पछिपछि गएको थिएँ, गाउँलेहरूले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए, पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आइरहेका थिए।'

नदीवारि रहेका ७ जना केटाहरूलाई नियन्त्रणमा लिएको र नदी तरी गएकालाई समेत अन्य गाउँलेले कुटपिट गरेको आफूले देखेको उनले बताएका छन्।

Source: https://www.setopati.com/social/209074