एकाएक विश्वव्यापी स्वास्थ्य महासंकट बनेर उदाएको कोरोना भाइरस महाव्याधिले विश्वलाई अभूतपूर्व आर्थिक धक्का दिँदै छ । प्रकोपको भयले केही समय ९० प्रतिशत विश्व ठप्प बनेको छ । विश्व पर्यटन शून्यमा ओर्लियो, आपूर्तिका शृंखला मात्रै टुटेनन्, माग पनि अभूतपूर्व रूपले संकुचित बन्न पुगेको छ । करोडाैँ सर्वसाधारण बेरोजगार बने । विश्वव्यापी मन्दी सिर्जना भएको छ, यो डिप्रेसन हुँदै ‘ग्रेट डिप्रेसन’मा पुग्ने आशंकाले तर्साउन थालेको छ । विश्व बैंकले भनेको छ, ‘महाव्याधि जति लम्बिन्छ, अर्थतन्त्रहरू उत्तिकै भासिँदै जानेछन् ।’ स्थिति सुधार भए यो वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले ऋणात्मक हुने र खराब परिदृश्यमा ८ प्रतिशतसम्म ऋणात्मक हुन सक्ने प्रक्षेपण विश्व बैंकको छ । जुन समयावधिको लम्बाइ र संकुचनको चौडाइ दुवैबाट ‘डिप्रेसन’को स्तर हो ।
के हो मन्दी ?
जब महिनाैं वा वर्षाैँ आर्थिक गतिविधि फस्टाउँदैनन्, त्यसलाई मन्दी भनिन्छ । जब मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ऋणात्मक हुन थाल्छ, बेरोजगारीमा वृद्धि हुन्छ, थोक एवं खुद्रा मूल्य खस्किन्छ, लामो समय आय एवं उत्पादनमा संकुचन हुन थाल्छ, तब मन्दी मानिन्छ । सन् १९७४ मा अर्थशास्त्री जुलियस सिस्किनले मन्दीको परिभाषामा जिडिपीमा लगातार दुई त्रैमासिकसम्म गिरावट आए, मन्दी भन्ने ‘रुल अफ थम्ब’ ल्याएकी हुन् । सिस्किनले लगातार ६ महिनासम्म पनि अर्थतन्त्रमा संकुचन (ऋणात्मक) आइरहे, अर्थतन्त्रमा गम्भीर समस्या अन्तरनिहित छन् भन्ने बुझ्नुपर्ने बताएकी छिन् । यही परिभाषा अहिले लोकप्रिय छ । नेसनल ब्युरो अफ इकोनोमिक रिसर्च (एनबिओआर) अमेरिकामा मन्दी सुरु भएको र अन्त्य भएको घोषणा गर्ने आधिकारिक निकाय हो । एनबिओआरको आफ्नै परिभाषा छ, ‘आर्थिक गतिविधिमा उल्लेख्य कमी, वास्तविक जिडिपी, वास्तविक आम्दानी, रोजगारी, औद्योगिक उत्पादन र थोक तथा खुद्रा बिक्रीमा कमी मन्दीका विशेषता हुन् ।’
अहिले कुन अवस्थाको मन्दी ?
अधिकांश विकसित मुलुकले सन् २०२० को जनवरीदेखि नै अर्थतन्त्रमा ऋणात्मक वृद्धिको साक्षात्कार गरिरहेका छन् । अप्रिलदेखि जुनसम्मको आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन । तर, त्यस आँकडाले पहिलेको भन्दा पनि ठूलो अनुपातमा अर्थतन्त्र खस्केको देखाउनेछ । यसको अर्थ लगातार दोस्रो त्रैमास (६ महिना)सम्म अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुन पुग्नु हो । यसबाट विश्व नै आर्थिक मन्दीको चपेटामा पुगेको पुष्टि हुन्छ ।
बेलायतको सरकारी खर्च निगरानी निकाय ओबिआरको अनुमानमा यो गर्मी याममा बेरोजगारी दर दोब्बर बढेर १० प्रतिशतसम्म पुग्न सक्नेछ । अमेरिकामा गत मार्चमै १४ दशमलव ७ प्रतिशतको उच्च बेरोजगारी पुगिसकेको थियो । तर, अहिले केही सुधार भइरहेको छ । यो सुधारलाई सम्भावित दोस्रो संक्रमण लहरले तुषारापात गरिदिन पनि सक्नेछ । आर्थिक मन्दीको प्रभाव समाजका सबैलाई बराबरी पर्नेछैन । आइएलओले कम्तीमा ६ करोड सर्वसाधारण चरम गरिबीमा धकेलिने अनुमान गरेको छ । आइएलओ र युनिसेफले थप ९ करोड ६० लाख बालबालिका जबर्जस्ती बालश्रममा धकेलिने चिन्ता गरेका छन् । यसले सामाजिक असन्तुलन बढ्नेछ । र, नयाँ आन्दोलनको सूत्रपात हुन सक्नेछ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपणअनुसार परिदृश्य खराब नभए यसै वर्ष आर्थिक मन्दी अन्त्य हुन सक्नेछ । र, विश्व अर्थतन्त्र फेरि पुरानै अवस्थामा फर्कन थाल्नेछ । तर, हामी सबै पहिले कहिल्यै नभोगिएको अन्योलमा छौँ । त्यसैले आर्थिक पुनरुत्थान कति मजबुत हुनेछ भन्ने कसैले अनुमान गर्न सक्दैन । उद्योग–व्यवसाय छिटो सञ्चालनमा आउन सके आर्थिक मन्दीको दुष्प्रभाव केही कम हुन सक्छ । तर, समुद्री क्रुज यात्रा, हवाईयात्रा र व्यापारिक सम्मेलनहरू पूर्ववत् अवस्थामा फर्किनेमा अझै केही वर्ष लाग्नेछ ।
के कारण मन्दी हुन्छ ?
मन्दी जन्मिने धेरै कारण हुन सक्छन् । तीमध्ये यहाँ केही उल्लेख गरिएको छ ।
आकस्मिक आर्थिक झड्का : आर्थिक झड्का आकस्मिक समस्या हो, यसले गम्भीर आर्थिक क्षति गर्छ । सन् १९७० मा ओपेकले चेतावनीविना अमेरिकालाई तेल आपूर्ति कटौती गरिदिँदा मन्दी सुरुवात भएको थियो । तर, यो कोरोना प्रकोपले भने विश्वभरकै अर्थतन्त्रलाई ठप्प बनाइदिएको छ । आकस्मिक आर्थिक झड्काको जुन ताजा उदाहरण हो ।
अतिशय ऋणभार : जब कुनै व्यक्ति वा व्यवसायले अतिशय ऋण लिन्छ, कुनै समय ऋणको साँवा–ब्याजको किस्ता यति ठूलो हुन पुग्छ कि उनीहरूले तिर्न नसक्ने अवस्थामा पुग्छन् । र, अर्थतन्त्र धराशायी हुन्छ । सन् २००५ को हाउजिङ बबल्स (घरजग्गा मूल्य फोका)ले विश्वलाई महामन्दीतर्फ लगेको थियो, जुन अतिशय ऋण सिर्जित मन्दीको मुख्य उदाहरण थियो ।
एसेस्ट बबल्स (सम्पत्ति फोका) : जब भावनामा बहकिएर लगानी गरिन्छ, खराब आर्थिक परिणाम धेरै पर हुन्न । अर्थतन्त्र मजबुत भएका बखत लगानीकर्ता अति आशावादी भइदिन्छन् । अमेरिकी केन्द्रीय बैंक फेडका पूर्वअध्यक्ष एलान ग्रिन्सप्यान यस प्रवृत्तिलाई ‘विवेकहीन उत्साह’ भन्छन् । सन् १९९० को दशकमा सेयर बजारमा यस्तै अस्वाभाविक उछाल आएको थियो । जब फोका फुट्यो, सर्वसाधारण अतालिँदै सम्पत्ति र सेयर बेच्न थाले र बजार क्र्यास (दुर्घटना) भएर मन्दी छायो ।
अतिशय स्फीति : स्फीति (मुद्राको क्रयशक्ति कमजोर बन्ने प्रवृत्ति) मूल्यमा वृद्धिको प्रवृत्ति हो । तर, अस्वाभाविक स्फीति खतरनाक हुन्छ । यस्तोमा केन्द्रीय बैंकले ब्याजको दर बढाएर स्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गर्छन् । यसबाट आर्थिक गतिविधिमा कमी आउन थाल्छ । सन् १९७० को दशकमा अमेरिकामा अनियन्त्रित स्फीतिको दुष्चक्रलाई तोड्न फेडले तीव्र रूपमा ब्याजदर बढाएको थियो । यसले पनि मन्दी निम्त्यायो ।
अतिशय अपस्फीति : जब मुद्राको क्रयशक्ति बलियो हुन्छ, वस्तु तथा सेवाको मूल्य धेरै ओरालो लाग्न थाल्छ, त्यसले पारिश्रमिक एवं ज्यालामा संकुचन ल्याउँछ । त्यसले फेरि मूल्यमै थप दबाब थोपर्छ र वस्तुको मूल्य थप ओर्लिन्छ । जब यो नियन्त्रणबाहिर पुग्छ, सर्वसाधारण र व्यवसाय दुवैले खर्च गर्न बन्द गर्छन्, यसबाट अर्थतन्त्र खुम्चिन पुग्छ । अपस्फीतिको नियन्त्रण स्फीतिभन्दा कठिन हुन्छ । र, यसले निम्त्याउने मन्दी पनि उत्तिकै डरलाग्दो हुन्छ । जापान सन् १९९० को दशकभर अपस्फीतिको स्थितिमा रह्यो र कडा मन्दीको चपेटामा पर्यो ।
प्रविधिगत परिवर्तन : नयाँ आविष्कारले उत्पादकत्व बढाएर अर्थतन्त्रलाई सहयोग गर्छ । तर, सुरुवातको समायोजनको अवधिमा भने त्यसले बेरोजगारी वृद्धि गरेर छोटो मन्दीमा धकेल्न सक्छ । १९औँ शताब्दीमा जब श्रममा बचत गर्ने प्रविधिगत उन्नतिको लहर छायो, समग्र पेसाकर्मी प्रभावित भएर मन्दी छाएको थियो । अहिले पनि एआई र रोबोट प्रविधिले सबैखाले रोजगारी खोस्दै लगेर मन्दी ल्याउन सक्ने चिन्ता केही अर्थशास्त्रीको छ ।
समृद्धितिर लम्किँदा पनि मन्दी : आर्थिक विस्तारको युगमा (समृद्धिको दिनमा) सम्पत्तिको मूल्य तीव्र रूपले बढ्दै जान्छ र ऋणको भारी पनि ठूलो बन्दै गइरहेको हुन्छ । कुनै पनि विस्तार वा संकुचनले एउटा निश्चित बिन्दुमा पुगेपछि रोकिन्छ र अर्काे चक्र सुरु हुन्छ । त्यस आकस्मिक रोकावटको धक्काले सम्पत्तिको मूल्य फोका फोड्छ, सेयर बजार क्र्यास गरिदिन्छ र ऋणको भार महँगोसाबित हुन पुग्छ । फलस्वरूपः वृद्धि खुम्चिन्छ र अर्थतन्त्र मन्दीमा प्रवेश गर्छ ।
र, अहिले यो महाव्याधिले थुप्रै आयामबाट बृहत् अर्थशास्त्रीय सूचकांकमाथि प्रहार गरेको छ । यसको आयाम र विस्तार निकै व्यापक छ । त्यसैले यसले निम्त्याउने संकट पनि अनपेक्षित हुने आकलन गरिन्छ ।
के हो महामन्दी ?
मन्दी जे–जे कारणबाट सुरु हुन्छ, महामन्दीका कारण पनि तिनै हुन् । तर, मन्दी र महामन्दीमा केही फरक छ । मन्दी अलि कम प्रभावको हुन्छ । महामन्दीको प्रभाव निकै बढी खराब हुन्छ । मन्दीमा भन्दा महामन्दीमा निकै धेरै रोजगारी गुम्छ, जिडिपी ठाडै ओरालिन्छ । मन्दीजस्तो महिनाैँ होइन, महामन्दी बर्षौंसम्म रहिरहन्छ । यसले पुनर्बहालीको समय पनि लामो लिन्छ । बितेको शताब्दीमा अमेरिकाले केवल एउटा मात्रै महामन्दी साक्षात्कार गरेको थियो, जुन सन् १९२९ देखि १९३९ सम्मको ग्रेट डिप्रेसन (महामन्दी) थियो ।
द ग्रेट डिप्रेसन
यो सन् १९२९ मा सुरु भएर १९३३ तिरबाट सकिएको थियो । यसबाट अमेरिका द्वितीय विश्वयुद्धपछि मात्रै तंग्रिएको हो । डिप्रेसनको यो अवधिमा अमेरिकामा बेरोजगारी २५ प्रतिशतले वृद्धि भएको थियो र जिडिपी ३० प्रतिशतले खुम्चिएको थियो । अमेरिकाका लागि यो सबैभन्दा ठूलो आर्थिक नोक्सानीको अवधि रह्यो । सन् २००७ मा सुरु भएको महामन्दीबाट अमेरिकी बेरोजगारी १० प्रतिशतले चुलिएको थियो ।
मन्दी कति लामो हुन्छ ?
एनबिइआरले अमेरिकी मन्दीलाई पहिल्याएको छ । सन् १९४५ देखि २००९ सम्मका मन्दी औसतमा ११ महिना रहेका थिए । सन् १८५४ देखि १९१९ बीचका मन्दी औसतमा २१ दशमलव ६ महिना लामा थिए । गत तीन दशकमा अमेरिका तीनवटा मन्दीबाट गुज्रिएको छ । सन् २००७ देखि जुन २००९ सम्म १८ महिना लामो महामन्दी (ग्रेट रेसेसन), द डटकम रेसेसन (२००१ को मार्चदेखि नोभेम्बरसम्म) आठ महिनाको छोटो मन्दी र सन् १९९० जुलाईदेखि मार्च १९९१ सम्मको गल्फवार रिसेसन (खाडी युद्ध) । यसको जसको सुरुवात तेलको उच्च मूल्यका कारण भएको थियो ।
विश्वका ५ विनाशकारी वित्तीय संकट
- सन् १७७२ को निक्षेप संकट
यो निक्षेप संकट लन्डनबाट सुरु भएर युरोपभर फैलिएको थियो । सन् १७६० को
दशकमा ब्रिटिस साम्राज्यले उपनिवेश र व्यापारबाट अथाह सम्पत्ति बटुलेको
थियो । त्यसबाट हौसिएर अधिकांश ब्रिटिस बैंकले कर्जा प्रवाहमा व्यापक लगानी
विस्तार गर्यो । तर, जब ब्रिटिस बैंकका एक साझेदार अलेकज्यान्डर फोर्डिस
आफूले बैंकबाट लिएको कर्जा नतिरी फ्रान्स भागे, त्यो खबर आगोजसरी फैलियो ।
सबै निक्षेपकर्ता डराएर पैसा झिक्न लागे । बैंकका अगाडि लामो लाइन लाग्न
थाल्यो । यसको प्रभाव स्कटल्यान्ड, नेदरल्यान्ड हुँदै बाँकी युरोपमा
पर्यो ।
- द ग्रेट डिप्रेसन अफ १९२९–३९
यो २०औँ शताब्दीको सबैभन्दा खराब वित्तीय एवं आर्थिक विपत्तिमा पर्छ ।
ग्रेट डिप्रेसन सन् १९२९ मा वालस्ट्रिटमा सेयर बजारको क्र्यासबाट सुरु भएको
थियो । त्यसपछि कमजोर अमेरिकी नीतिले मलजल ग¥यो । ग्रेट डिप्रेसन लगभग १०
वर्ष रह्यो । त्यसवेला बेरोजगारीको दर कीर्तिमानी बिन्दुमा पुगेको थियो ।
सन् १९३३ मा अमेरिकामा बेरोजगारी दर २५ प्रतिशत थियो भने जिडिपी ३०
प्रतिशतले ऋणात्मक थियो ।
द ओपेक आयल प्राइस सक अफ १९७३
चौथो अरब–इजरायल युद्धमा इजरायललाई हतियार पठाउने अमेरिकी कदमविरुद्ध
ओपेकका (खासगरी अरब) मुलुकले चालेको प्रतिरोधी कदमले यो संकटको सिर्जना
गरेको थियो । ओपेकले एकाएक अमेरिका र उसका सहयोगी मुलुकलाई तेल निर्यात
रोकिदिए । यसले ती मुलुकमा तेलको हाहाकार भयो र मूल्य अकासियो ।
अमेरिकालगायत प्रमुख विकसित मुलुक आर्थिक मन्दीमा धकेलिन पुगे । ती मुलुकमा
उच्चस्तरको स्फीति भयो, आर्थिक वृद्धि अवरुद्ध बन्यो ।
- सन् १९९७ को एसियाली वित्तीय संकट
यो संकट सन् १९९७ मा थाइल्यान्डबाट सुरु भएर पूर्वी एसियाका बाँकी मुलुक र थाइल्यान्डका व्यापार साझेदारहरूसम्म विस्तारित भएको थियो । पूर्वी एसियाली मुलुक थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुर, हङकङ र दक्षिण कोरियामा विकसित मुलुकले अन्धाधुन्ध लगानी प्रवाहित गरे । यी मुलुकले उत्साहित भएर अथाह ऋण लिए । यही ऋणले संकट ल्यायो । सन् १९९७ मा थाई सरकारले अमेरिकी डलरसँगको स्थिर विनिमय दर त्याग्नुपर्ने स्थिति पैदा भएको थियो । यसबाट एसियाली वित्तीय बजारमा हाहाकार मच्चियो र अर्बौं डलरमा वैदेशिक लगानी फिर्ता हुन थाल्यो । पूर्वी एसियाली मुलुक टाट पल्टिन सक्ने खतराबाट डराएर लगानीकर्तामा छटपटी बढ्दा त्यो विश्वव्यापी वित्तीय संकटका रूपमा फैलिएको थियो । यो अवस्था सामान्यीकरण हुन दुई वर्ष लागेको थियो ।
-सन् २००७–०८ को वित्तीय संकट
यो संकटलाई सन् १९३० को गे्रट डिप्रेसनपछिको सबैभन्दा ठूलो मन्दी भनिन्छ ।
यसलाई महामन्दी पनि भन्ने गरिएको छ । यो समयमा विश्वको वित्तीय बजार
अस्तव्यस्त बनेको थियो । अमेरिकामा घरजग्गाको ध मूल्य फोका फुट्दा लेम्यान
ब्रदर्स (विश्वकै ठूलो इन्भेस्टमेन्ट बैंक) धराशायी बन्न पुगेको थियो । यो
संकटले कैयाैँ महत्वपूर्ण वित्तीय संस्था र व्यवसायलाई पतनको संघारमा
पुर्याएको थियो । र, तिनलाई सरकारले उद्धार गर्नुपरेको थियो । यो संकट
सामान्य अवस्थामा फर्किन एक दशकभन्दा बढी लागेको थियो । यसबाट खर्बौँ
डलरको सम्पत्ति र करोडौँ रोजगारी गएको थियो ।
Source: https://www.nayapatrikadaily.com/news-details/45273/2020-06-13
No comments:
Post a Comment